गाउँको निखुर भाषामा गजल लेख्न खप्पिस गजलकार हुन अमला अधिकारी । अमलाको अमला, आगो, आरन र आश्रम गरी ४ वटा गजलकृति प्रकाशित भएका छन् भने ‘अमला’ ‘मधुवन वर्ष पुरस्कार’ प्राप्त कृति हो भने ‘आरन’ ‘नन्दकुमारी उप्रेती गजल पुरस्कार’ प्राप्त कृति हो । उसै गरी गाउँको निखुर भाषामा लेखिएको अमलाको पहिलो उपन्यास ‘आलय’ प्रकाशित भएको छ ।
मेरो शरीर ढाकर खकनसँग खेल्छ
अभावको धार मेरै गर्दनसँग खेल्छ
मफलर नभै हुँदैन बूढो तालुलाई
तन्नेरी चुल्ठो पो रिबनसँग खेल्छ
बा हली थिए, श्रीमान् पनि हली हुन्
छोरो पनि हलो जतनसँग खेल्छ
गरिबको खुसी कहाँ दीर्घायू हुन्छ र
छिनमै घुम्टो छिनमै कफनसँग खेल्छ
हिउँदभरि बच्चा लुक्नलाई खेल्छन्
वर्षा लाग्छ नदी आँगनसँग खेल्छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्