अजिरकोट ४ गोरखाका गजलकार गणेश बाबु अधिकारी (बाबू) हाल पपुवा न्युगिनीमा हुन् । उनको मनको आँकुरा गजलसङ्ग्रह, हराएको जून बालकथा सङ्ग्रह, मधुवन गोधूलि संयुक्त गजल सङ्ग्रह, हैसियत ४ संयुक्त गजलसङ्ग्रह प्रकाशित छ ।
जीर्ण शरीर देख्दा नचिनौला डर हो मेरो
वर्षौं पछि भेट्न बोलायौ अवसर हो मेरो
सदाको जस्तै आगो फुकेर रात काट्नु पर्छ
चिनारी भरिया अनि सडक घर हो मेरो
दुनियाँ बदल्छु भन्थ्यौ आफैँ पो बदलिएछौ
म बदलिन सकिन यही उत्तर हो मेरो
गिद्धहरू उडेका छन् यो शहरमा निस्फिक्री
सकुशल छोरी हुर्किउन रहर हो मेरो
एउटै विचार बोकी निस्किएका थियौं दुवै
तिमी शासक म मजदुर सफर हो मेरो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्