तिम्रो साम्राज्यको एउटा गरिब मजदुर हुँ
मेरो सपनामा महल होइन मुलुक आउँछ ।
पेसाले म एक खेताला हुँ । मेरो बुझाइमा, यसको पर्यायवाची भनेकै एक मजदुर हो या एक श्रमिक । मैले गर्दै आएको पत्रकारिताले मलाई सन्तोष त दिएको छ । तर मजदुरबाट मालिक बनाउने बाटोमा लैजान भने सकेको छैन । धन्न ‘सेर’सँगको पौँठेजोरी हुँदैनथ्यो भने यो श्रमिकको के नै पो अस्तित्व हुन्थ्यो र !
मलाई ‘सेर’ शब्द सुन्दा मात्रै पनि बडो गजब लाग्छ । लाग्छ, मैले लेख्दै आएको गजलले बडेमानको सम्मान पाएको छ । र, यो पनि लाग्छ कि– एक मजदुरको पक्षमा पनि कतै वकालत भइरहेको छ ।
समग्रमा हेर्ने हो भने नेपाली गजल परम्परा विकासको त्यति लामो इतिहास छैन । जति लेखिनुपर्नेे या जति आउनुपर्ने थियो त्यति आएको छैन । यदि आउँथ्यो भने के सबैका गजल जीवन्त हुन्थे त ? यो कुरा पनि सोचनीय छ नै ।
बेलाबेला गजलसम्बन्धि बहस र समालोचना भइ नै रहेका छन् । यद्यपि आउनुपर्ने गजल कतै अल्मल्लिए कि भन्ने लाग्छ । र, यस्तो पनि लाग्छ– हामीले पनि त्यस्ता ल्याउनैपर्ने गजललाई बाहिर ल्याउन सकेनौँ । त्यो वातावरणको सिर्जना गर्न सकेका छैनौं ।
नेपाली गजलको परम्परा खासै लामो छैन भन्दै छेउ लाग्नुपर्ने अवस्थाको अन्त्य भने गर्नैपर्छ । गजलमा हामी सबैले स्वीकार गर्दै आएको कुराचाहिँ यसको परम्परा शृङ्गारिक वा प्रेमिल हुँदै आएको हो । र, यो पनि स्वीकार गर्छौं कि– गजल दरबारमा सुनाइन्थ्यो वा गाइन्थ्यो ।
सुरुवातदेखि आजको अवस्थासम्म आइपुग्दा यो परम्परा धेरै परिवर्तन भइसकेको छ । परिवर्तन भन्नाले तत्कालीन अवस्थामा लेख्दै आएका विषयवस्तु र हाल लेखिँदै आएका विषयवस्तु फरक छन् । तत्कालीन समयमा गजल दरबारमा मात्रै केन्द्रित थियो भने अहिले प्रत्यक्ष श्रमसँग पनि जोडिएको छ । पसिनासँग जोडिएको छ । र, जोडिएको छ– सुखदुःखसँग पनि ।
वर्तमान समयमा गजल मानिसको प्रत्यक्ष जीवनसँग जोडिएर आएको छ । यसबाट बुझ्न सकिने भनेको गजलले पसिनाकोजस्तै आफ्नो गन्ध स्थापित गर्न खोज्दैछ । नेपाली गजल अब स्वमूल्यको खोजीमा जीवनसँग जोडिएर आएको छ । धेरैले यसको खेती गरेका छन् । कतिले त यसलाई आफैंले नष्ट गरेका छन् भने कति यसको मूल्यको खोजीमा भौँतारिएका छन् । लाग्छ, यो दौडमा गजलले आफ्नो मूल्य आफैँ स्थापित गर्नेछ ।
- त्यसपछि नेपाली गजल आरन, छाउ, देउकीलगायत सबैसबै असमानताका पर्खाल भत्काउँदै अगाडि बढ्यो ।
अहिले देशमा एक खाले परिवर्तन आएको छ । देश समृद्धिको मार्गोन्मुख छ । आफूले चाहेको, आफैँले चुनेर पठाएकाले देश चलाएकोमा दङ्गदास छन् जनता । र, छौँ हामी पनि । तर पनि भोककोजस्तो घातक अरू कुनै कुराको लडाइँ नहुने रहेछ । अहिले गजल लेख्नेहरूमा पनि भोक छ एउटा । श्रमका पक्षमा दिनानुदिन गजल लेखिँदै आएका छन् । यसबाट पनि गजलले मजदुरको पक्षमा आवाज उठाउँदै आएको कुरालाई सङ्केत गर्छ ।
नेपाली गजल यहाँसम्म आइपुग्दा कैयन् ठाउँमा रोकिँदै, दौडिँदै र तैरिँदै आएको छ । पूर्वावस्थामा लेखिएका गजल र यति बेला लेखिएका गजलमा केही फरकपन त छ नै । पीडा, कुण्ठा, आक्रोश, व्यङ्ग्य, यौन, प्रेम, विज्ञान–प्रविधि लगायतका कुराले अहिलेका गजलमा महत्व पाएका छन् ।
जसरी भए पनि गजल लेखिनुपर्छ भन्ने मान्यता एकातिर स्थापित भएको छ । यसले गजल लेख्नेहरूलाई गजलकार त बनाउला । तर के ती गजलले श्रमको पक्षमा वकालत गर्लान् त ? के तिनले भोकविरुद्ध आवाज उठाउलान् ? यावत् प्रश्नहरूको एउटै उत्तर हो– भोकाएको मानिसले उपदेश सुन्दैन ।
स्मरणीय छ, साठीको दशकयता नेपाली गजलको विस्तार फरक धारमा हुँदै आयो । देश जब गृहयुद्धबाट निस्कियो अनि बल्ल मानिसमा राजनैतिक चेतनाको चरम विकास भयो । देशमा आमुल परिवर्तनसँगै जनताको हातमा सरकार पनि नआएको होइन । वर्षौंदेखि शोषित–दमितहरूको आवाज मुखर भएर निस्किए । त्यसपछि नेपाली गजल आरन, छाउ, देउकीलगायत सबैसबै असमानताका पर्खाल भत्काउँदै अगाडि बढ्यो ।
साठीको दशकपछि नै हो, नेपाली गजलले बिस्तारै श्रम चिन्न थालेको । त्यसपछि अभूतपूर्व रूपमा गजलको विस्तार दरबारभन्दा बाहिर; घर, भान्सा, गोठ आदिमा हुन थाल्यो । यसको मतलब, नेपाली गजलले सबैथोक एकैपटक चिन्ने अवसर पायो ।
- कक्षाकोठामा कुनै विद्यार्थीलाई ‘तिमीले के रचना सुनाउँछौै ?’ भन्दा उसले जानी–नजानी लेखेको आफ्नो भावनालाई पनि गजल नामाकरण गर्यो । यी सबै कुराले पनि गजलप्रतिको प्रेम प्रकट गर्छ ।
साठीको दशकयता नै स्वतन्त्र भएर लेख्न नसकेकाले पनि निस्फिक्री रूपमा गजलमा निब चोपल्न पाए । त्यसपछि कसैको रोकटोक भएन । समाज सुहाउँदो, नसुहाउँदो सबै लेख्न थालियो । यो अवस्थाले पनि हरेक पक्ष छानिएर अगाडि बढ्ने अवस्थाको सिर्जना भयो । गजल लेखनमा एक किसिमको बाढी नै आयो । धेरैले गजल लेख्न थाले । दिनमै सयौं गजल लेखेका कुरा सुनिए । मानौँ, एक किसिमको ठूलो समुद्र भएर गजल उर्लियो ।
गजलसम्बन्धी ठूल्ठूला कार्यक्रम हुन थाले । एक गाउँ, एउटा रेडियोको अवधारणा आयो । त्यसपछि हरेकले आफ्नै गाउँघरका कुरा सुन्ने अवसर पाए । आफैंले तत्काल लेखेको गजल क्षणभरमै एफएम रेडियोबाट बज्न थालेपछि गजल मोह बिस्तारै बढ्दै आयो । यो बेला आफूलाई तार्न खोज्नेहरू तैरिए । तार्न नसक्नेहरूचाहिँ बगे । कतै पर पुगेर हराए ।
हलो जोत्नेले हलोकै गजल सुन्न पाए । ठेलागाडा चलाउनले ठेलाकै र बालुवा चाल्नेले आफ्नै जीवनसँग मिल्दाजुल्दा गजल सुन्न-लेख्न पाए । कक्षाकोठामा कुनै विद्यार्थीलाई ‘तिमीले के रचना सुनाउँछौै ?’ भन्दा उसले जानी–नजानी लेखेको आफ्नो भावनालाई पनि गजल नामाकरण गर्यो । यी सबै कुराले पनि गजलप्रतिको प्रेम प्रकट गर्छ ।
जब रेडियोको विस्तार भयो, सामाजिक सन्जालको युग आयो तब मात्रै गजल लेखन थप सशक्त बन्यो । आफूले लेखेका गजल कतै प्रकाशित गर्नुपर्ने, बजाउनुपर्ने बाध्यता बिस्तारै हट्दै आयो । सामाजिक सन्जालमा थुप्रै गजल एकसाथ पोस्ट हुन थाले । यति बेला जो जहाँ भए पनि आफ्ना रचना सबैमाझ पुर्अवसर पाए । आफ्नो पेसाप्रति हरेकलाई विश्वास लाग्न थाल्यो । कामप्रति लगाव बढ्यो । त्यसपछि हरेकको पहुँचमा गजल पुग्यो ।
जुनसुकै समयमा जो–जसले आफूलाई सक्रिय रूपमा जोगाउँदै, सुधार गर्दै, लेख्दै आए, उनीहरू नै गजलमा देखिन थाले । उनीहरूको नामको अघिपछि गजल जोडिएर आउन थाल्यो । अथवा उनीहरूको पेसाजस्तो गजल चिनिन थाल्यो । कुनै पनि रचनाको कहिल्यै मूल्याङ्कन हुँदैन । हरेक रचनाको आ–आफ्नै पाठक, स्रोता र दर्शक हुन्छन् । तथापि लोकले धेरै रुचाइएका रचना नै जीवन्त बन्छन् । यसरी नै गजल हरेक श्रमिकको पेसामा आयो ।
- आफ्नै भाषामा पनि गजल लेखनले व्यापकता पाएकै कारण यो बाँचेको पनि हो । आफ्नै रहनसहन, भाषा, संस्कृतिलगायतका कुरालाई पनि उठान गरिएको छ ।
हामी जन्मनुको पनि भूमिका छ । हामीले जसरी आफूलाई प्रस्तुत गर्दै लैजान्छौँ, त्यो नै हाम्रो भूमिका हो । हामीले लेख्नुपर्ने र पढ्नुपर्ने धेरै छ । गजल त एउटा पाटो मात्रै हो । पछिल्लो समय नेपाली गजलमा एकदमै स–साना कुरालाई पनि बडो प्रेमिल, व्यङ्ग्य या आक्रोशपूर्ण तरिकाले लेखिँदैछ । अथवा यस्तै खाले गजल लेख्ने परिपाटी चलेको छ । मानिसको जीवनमा प्रत्यक्ष सरोकार राख्ने एकदमै सूक्ष्म कुरालाई गजलमा लेख्न थालिएको छ । यसले गर्दा गजल जन–जनमा पुगेको देखिन्छ ।
हामीले लेख्दै आएको कुरा जसका लागि लेखिएको हो उसले बुझेन भने त्यो लेख्नु बेकार हो भन्ने कुराको बहस चलिसकेको छ । कमसेकम जसका लागि लेखिएको कुरा हो, उसले पनि बुझ्नुपर्छ । गजलका सेरले छोएन भने त्यो गजल होइन । कतै न कतै भित्र छोएकै हुनुपर्छ । जिब्रोमा झुन्डिनु पर्छ । दिमागमा बस्नुपर्छ । दिलमा लाग्नुपर्छ । यदि लाग्दैन भने त्यो गजल होइन । र, गजलमा अन्दाज–ए–बयाँ हुन सकेन भने पनि त्यो गजल हैन ।
नेपाली गजलमा आञ्चलिकता पछिल्लो समय व्यापक रूपमा उठेकाले पनि यसमा श्रमिकको भावनाले स्थान पाएको हो । आफ्नै भाषामा पनि गजल लेखनले व्यापकता पाएकै कारण यो बाँचेको पनि हो । आफ्नै रहनसहन, भाषा, संस्कृतिलगायतका कुरालाई पनि उठान गरिएको छ । यसले एकातिर मौलिकताको संरक्षण तथा सम्बद्र्धन भएको छ भने अर्कोतिर पहिचानको मुद्दा पनि बिस्तारै अगाडि आएको छ ।
समयानुसार समसामयिकलगायतका कुरा गजलमा बढी मात्रामा उठाइएको छ । गजल कसरी सुरु भयो भन्ने इतिहास भन्दा पनि यसले समेट्दै आएको विषयवस्तुलाई नजरअन्दाज गर्न थालिएको छ । गजल परिवर्तनशील हुँदै विस्तार हुने बाटोमा छ । जसरी हिजो र आजको गजलमा परिवर्तन हुँदै आयो, त्यसरी नै आज र भोलिको गजलमा पनि पक्कै परितर्वन हुनेछ ।
आशा गरौँ, गजल मजदुरकै पक्षमा हुनेछ । सत्यकै पक्षमा हुनेछ र प्रेमको पक्षमा पनि ।
-------
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्