डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ वि.सं. २०१५ असार १४ गते कालीगण्डकी –५, बलाम नित्यडाँडा, स्याङ्जामा जन्मेका हुन् । हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययन शीर्षकमा विद्यावारिधी गरेका उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनका यो मौसम,घामको छहारीमा, जून चुहेको रात, जूनको चुम्बन (गजलसङ्ग्रह),जुनुमामा (संयुक्त बाल गजलसङ्ग्रह), अन्त्यमा (खण्डकाव्य) २०३६,राम्रा चाचा मीठा पापा (बालगजल सङ्ग्रह ), कविता कानून (कविता सिद्धान्तकाव्य), पुष्पम् पत्रम् (मुक्तकसङ्ग्रह), पाश्चात्य साहित्य चिन्तन (सैद्धान्तिक समालोचना) लगायत दर्जनौं कृति प्रकाशित छन् ।
मजदुर हुँ एउटा म बोझा उठाउँदै छु
बिक्री गरेर निद्रा पसिना बगाउँदै छु
तिम्रो अहित हुने क्यै कहिल्यै गरेँ र मैले
जल्दै म मैनजस्तै जीवन चलाउँदै छु
तोरी फल्यो नि मेरै श्रमले गराहरूमा
भो तेल तिम्रो लागि म पिना सुकाउँदै छु
तिम्रो उदारताको आभास चाहिँदैन
मेरै खुबीले मैले आस्था बचाउँदै छु
सामन्तवाद भो–भो तारिफ नगर्नू मेरो
श्रमको बजारमा नै सम्मान पाउँदै छु
तिम्रो महल छ अग्लो पर्दैन मन मलाई
आनन्ददायी यौटा झुपडी बनाउँदै छु
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्