चितवन– क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीका लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान सुरु गरेको छ । देशैभर प्लाजा पठाएर सङ्क्रमितकाे उपचारमा सहयोग गर्न अभियान सुरु गरिएको हो ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन भइसकेको छ । गत सोमबार मात्र नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति कावासोतीले एकै दिन ३३ युनिट प्लाज्मा सङ्कलन गरी केन्द्र पठाएको थियो । यसअघि पाँच जनाले केन्द्रमा नै आएर प्लाज्मा दान गरेका थिए ।
चेम्बर अफ कमर्शको ७०औं स्थापना दिवसको अवसरमा जिल्लाका तीन ठाउँमा प्लाज्मा सङ्कलन गर्दै छ । चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार यही असोज २७ गते सशस्त्र प्रहरी बल नम्बर–३ गढीमाई बाहिनी वाग्मती प्रदेश भण्डारा, असोज २८ गते रत्ननगरको स्मार्ट फुड्स प्रालि र असोज २९ गते वडा प्रहरी कार्यालय नारायणगढमा प्लाज्मा सङ्कलन गरिँदै छ । यी तीनै ठाउँमा अत्यधिक सङ्क्रमण देखिएको थियो । उनले ती तीन ठाउँबाट १०० युनिटभन्दा वढी प्लाज्मा सङ्कलन हुने बताए ।
केन्द्रका प्रमुख पौडेलका अनुसार काठमाडौं, बुटवल, भक्तपुरलगायतका ठाउँबाट प्लाज्मा माग भइरहेको छ । उनले भने, ‘प्लाज्मा सङ्कलन अभियानका लागि सबै इच्छुक भएका छन् । यसले धेरैको ज्यान बचाउनेछ ।’