काठमाडौं– बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।
बुटवलको सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्ष नपाइएका दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लैजाँदै गर्दा आज बिहान बाटैमा मृत्यु भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी लामो समयदेखि मुटु रोगको समस्याले पीडित रहेको जनाइएको छ ।
कोरोना सङ्क्रमित बुटवल–११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान करिब २ बजे कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । बुधबार कोरोना विशेष अस्पतालको कक्षमा भर्ना भएकी सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल–१ का ७० वर्षीय पुरुषको गए राति १० बजे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार अस्पताल भर्ना भएका उनमा यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यता, कोरोना सङ्क्रमणका कारण धुलिखेल नगरपालिका–११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुषको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भएपछि ५२ वर्षीय ती पुरुषलाई दुई हप्ताअघि उपचारार्थ धुलिखल अस्पतालमा भर्ना गरिएको थियो । पुरुषमा ‘क्रोनिक अल्कोहलिक लिभर डिजिज’ समेत भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा आज बिहान ६ बजे अस्पतालमा उनको निधन भएको वडाध्यक्ष विष्णु धितालले बताए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका ९५८ मा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये नौको मृत्यु भएको छ भने ५८५ उपचारपछि घर फर्किएका छन् । तीन सय ६५ सक्रिय सङ्क्रमितमध्ये ११० जना अस्पतालको आइसोलेशन र २५५ जना होम आइसोलेशनमा उपचाररत छन् ।
यसैबीच काभ्रेपलाञ्चोकका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन् । हाल जिल्लाकै कूल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३७ प्रतिशत अर्थात् १३५ सङ्क्रमित बनेपा नगरमा छन् । सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा एक पुरुष छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११२, पनौतीमा १८, पाँचखालमा ३४, नमोबुद्धमा २६, मण्डनदेउपुरमा १०, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १० र महाभारत गाउँपालिकामा तीन छन् ।