प्राणी हिंसा नगर्ने, झुटाे नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, मद्यपान नगर्ने पञ्चशीलका भावबाट प्रभावित नहुने को होला र ? त्यसमा पनि बालबालिकाहरु आफैँमा अबाेध र सहृदयी हुन्छन् । उनीहरु निष्कपट हुन्छन्, उनीहरुमा सत हुन्छ, त्यसैले हरेक कुरालाई सत देख्छन् । यही पञ्चशील र सत भावबाट बालकैमा प्रभावित भइन् बनेपाकी शारदा मानन्धर ।
बालसुलभ मन नराम्रा कुराबाट त्यतिकै टाढिन्छ । त्यसमा पनि बुद्ध धर्मको चार आर्य सत्य– दु:ख, दु:खको यथार्थ कारण, दु:खको यथार्थ निरोध र चित्तको यथार्थ मार्गले छोएपछि अरु बाटोमा लाग्ने सोच नै आउँदैनन् । यी कुराबाटै अबाेध शारदामा भिक्षुणी बन्ने सपना पलाउन थाल्यो र त्यही बाटोमा जान प्रेरित गऱ्यो ।
काभ्रेको बनेपा पहिलेदेखि नै व्यापारिक केन्द्र, तिब्बतसम्मको सम्बन्ध राख्ने मुख्य कसी । बनेपामा उहिल्यैदेखि नै बढी चहलपहल हुन्थ्यो । बनेपाकै वांख्य टोलमा जन्मेकी हुन्, शारदा । ७/८ वर्षको उमेरमै घर व्यवहारमा परिपक्व भएकी थिइन् । उनी भाइहरु हेर्ने, खेतमा खाजा पुऱ्याउने जिम्मेवारीहरु सहजै निर्वाह गर्थिन् ।
शारीरिक र मानसिक कामले शारदा १० वर्षमै तन्नेरी देखिन्थिन् । धेरैले ‘कस्ती राम्री’ भनेर उनको आकर्षणको प्रशंसा पनि गर्थे । त्यही उमेरमा उनलाई धेरै ठाउँबाट बिहेको प्रस्ताव आयाे । कुनै प्रस्ताव आफन्तहरुले उनको बाआमासम्म ल्याए, कुनै प्रस्ताव पेसेवर लमीले नै बोकेर ल्याए ।
१० वर्षमै माग्न आउनेको लर्को
एक दिन उनीसँगै गुच्चा, कबड्डी खेल्ने केटाहरुको घरबाट बिहेका लागि प्रस्ताव आएको थाहा पाउँदा निकै रिसाएकी थिइन् । हुन पनि १० वर्षकै उमेरमा घरको काममा, बुबाको व्यापारमा सक्रिय उनलाई वरपरका परिवारहरु बुहारी बनाउन पाए त घर चलाउन सजिलो हुने सोच्थे । शारदा निडर थिइन्, स्वाभावै पनि हक्की अनि मनमौजी पनि ।
उनी बुबाको नुन, घिउ, तेल, उखु, चामलको व्यवसायमा सबैखाले सहयोग गर्ने गर्थिन्, त्यसैमा पनि रमाउँथिन् । माइलो भाइ पाउने बेला आमाको प्रसव पल सम्झेर गृहस्थ जीवनप्रति उनको तृष्णा मेटियो । बिहेप्रतिको रहर नै सदाका लागि मर्याे ।
उनी भन्छिन्, ‘मेरो बाल मनसपटलमा बुद्धवाणीले थाहा नपाईकनै डेरा जमाइसकेका थिए । जति बेला म ५ कक्षामा मात्र पढ्थें । फेरि म हजुरआमाकी प्यारी नातिनी, मेरा काका स्कुलका शिक्षक हुनुहुन्थ्यो, उहाँले स्कुलमा गाली गर्नुभयो भने पनि म हजुरआमालाई भन्दिन्थें ।’
शारदालाई स्कुलमा भन्दा विहारमा रमाइलो लागिसकेको थियो । बहिनीसँग चन्द्रकृति विहारमा जाँदा जाँदै त्यहाँ रहेका फूलहरुप्रति लोभिइन् । ‘फूलको बगैंचामा फुलेको सबै फूल टिपिँदैन, आफूलाई मन परेको मात्रै टिपिन्छ’ भन्ने कुरा किशोरी शारदाको मनभित्र ननिस्कने गरी गडेर बस्यो ।
उनी आफ्नो बाल्यकाललाई सम्झन्छिन्, ‘मलाई काटमार फिटिक्कै मन पर्दैनथ्यो तर दसैंको बेला घरमै बलि दिइन्थ्यो । ११ वर्ष पुगेकी थिएँ हुँला, घरमा पालेको कुखुरालाई बलि दिन लाग्दा कुखुरालाई भगाएँ । कुखुरा नकाट्नू बरु मलाई नै मार्नू भनें ।’
त्यसपछि शारदाको घरमा कहिले मार हानिएन, बलि दिइएन । उनी आफ्नो करुणाजनक हृदय खोलेर मासुका लागि कुखुरापालन, भेडा र बाख्रापालन रोक्न कडा रुपमा प्रस्तुत हुन्थिन् । कलिलो उमेरमै देवी, देवताको मूर्तिपूजन र निधारमा रातो टीका लगाउने कार्यको विपक्षमा पाउनु त्यतिबेलाको समयमा विरलै गरिने काम थियो । तर उनलाई त्यस प्रथाले कहिले आकर्षित गरेन ।
उनी बिहानै उठेर बनेपाको चण्डेश्वरी मन्दिर अगाडिको पोखरीमा माछालाई अन्न खुवाउन पुग्थिन् । तर मन्दिरभित्र गएर पूजा गर्न जाँदैनथिन् । अरु साथीहरु मन्दिरमा पूजाका लागि जाने बेला उनी एक मनले माछालाई दाना खुवाएर रमाउँथिन् ।
‘मलाई झैझगडा भनेपछि मनै नपर्ने, अन्याय सहनु नै पाप हो भन्ने लाग्थ्यो, भन्थेँ पनि । समाजमा जातीय विभाजन, छुत–अछुतको भेदभाव र थिचोमिचोले मन साह्रै दुख्थ्यो,’ उनले भनिन् ।
बाल्यकाललाई अहिले पनि झलझली सम्झिन्छन्, ‘एक पटक घरमा बुबाका साथी विल्लु मानन्धर आउनुभएको थियो । भऱ्याङमा बसेर बुबाहरुको कुरा सुन्न थालें । उहाँहरु त छोरीचेलीलाई धेरै घरमा राख्नुहुँदैन, बेइज्जत गर्न सक्छ भनेर कुरा गर्दै हुनुहुन्थ्यो ।’
उनले बुझिहालिन् । आफूलाई बिहे गरेर पठाइदिन्छन् भन्ने डरले डेरा जमायो मनमा । त्यसपछि बिहेको कुरा गऱ्यो कि उनी भन्थिन्, ‘नो ।' हुन त उनी त्यतिबेला सानै थिइन् । तर उनलाई यी कुराहरुले भन्दा समाजको भेदभाव र सोचको विरोध गर्न मन लाग्थ्याे ।
भिक्षुणी बन्न आमाको औंठाछाप
विविध सामाजिक कारणले पनि उनलाई भिक्षुणी हुने मन लाग्याे । तर बुद्धलाई जस्तै गृह त्याग गरेर जान उनीसामु पनि उत्तिकै बाधाहरु थिए । भिक्षुणी हुन आमाबुबाबाट अनुमति पाउने छाँटकाँट देखिनन् । अनेकन जुक्ति खोजिन्, शारदाकी आमा हजुरआमाको जंकु पूजाका लागि रातभरि बसेर चिउरा कुट्दै थिइन् ।
त्यस बेलाका घटनामा रोमाञ्चित हुँदै शारदाले सुनाइन् । ‘त्यही मौकामा आगोले कालो बनाएको भाँडाको कालो आमाको औंठामा लगाएर ‘म मेरी छोरीलाई भिक्षुणी बन्न अनुमति दिन्छु’ भन्ने कागजमा औंठा छाप लगाएँ । तर बुबा भने लेखपढ गर्न जान्ने हुनुहुन्थ्यो । समस्या त्यही थियो,’ यति भन्दै उनी हाँसिन् ।
भिक्षुणी बन्न उनका लागि ठूलै सकस भयो । झुटाे बोल्नुहुन्न भन्ने वाणीबाट प्रभावित उनले ११ वर्षको उमेरमा भिक्षुणी बन्न झुटकै सहारा लिइन् ।बुबालाई विहारको काममा काठमाडौं जान अभिभावकको दस्तखत चाहिन्छ भनेर ढिपी गर्न थालिन् । तर बुबाले खाली कागजमा सही गर्नै मानेनन् तर शारदाकी आमाले भनिछिन्, ‘बच्चाका लागि आफ्नो दुई शब्दको 'हरि' लेखेर के जान्छ ?’ आमासँग हार मानेर सही गरिदिए । दुई शब्दको ‘हरि’को मोल कति हो भन्ने कसलाई के थाहा ?
गृहत्यागपछिको संसार
त्यही कागज बोकेर शारदाले गृहत्याग गरिन् । गृहत्याग गर्दा उनले सिद्धार्थ गौतमका गृहत्यागलाई सम्झिन् कि सम्झिनन् तर उनले घरमा केही नभनी घरबाट निस्किइन् ।
वि.सं. २०२७ कार्तिक ८ गतेको दिन उनले घर छाडेकी थिइन् । धुलिखेल बिहारका भिक्षु धर्मानन्दको काठमाडौंस्थित घरमा ७ दिनसम्म लुकेर बसिन् । आमाबुबाले खोजीनिती निकै गरे तर उनी भिक्षुणी बन्न हिँडेको पत्तो पाएनन् । अनागारिका संघरक्षिता र भिक्षु धर्मान्दको साथमा शारदा बनारस पुगिन् ।
त्यसबेला घरपरिवारले कति चिन्ता र दु:ख भोगे होलान् भन्ने उनले वास्ता गरिनन् । त्यसरी वास्ता गरेको भए उनलाई सांसारिक जीवन त्याग्ने आँट कसरी जुट्थ्यो र । ‘त्यहीँ सिग्रा बर्मेली विहारमा मैले अनागारिका खेमा नाम पाएँ । पछि भिक्षु प्रज्ञानन्द महास्थवीरले खेमाको सट्टा अनोजा नाम राखिदिनुभयो,' उनले भनिन् । यही नाम उनको आफ्नै परिचय बन्यो । भिक्षुणीको परिचय पाएपछि बल्ल घर सम्झिइन्, भारतबाटै उनले पत्र लेखिन्, ‘म गुरुमा भएको छु, पीर नगर्नू ।’
विहारमा यातनादेखि आफ्नै सपनाको विहार
गुरुमा भएपछि उनी नेपाल आएर त्रिशूली विहारमा एक महिना बसिन् । पछि पाटनस्थित चन्की विहारमा संघरक्षिता गुरुमासँग रहिन् । तर वातावरण र परिस्थिति बेग्लै बन्न पुग्यो, भनेजस्तो व्यवहार नभएपछि अनोजालाई शारीरिक र मानसिक तनाव दिइयाे । पिटाइपछि उनलाई छाती दुख्न थाल्यो । आफूलाई छाती दुख्न थालेको धर्मचारी गुरुमालाई बताइन् । उनकै पहलमा चन्की विहारबाट निस्केर धम्मावती गुरुमाको विहारमा बस्न पुगिन् ।
‘बुद्धको दीक्षा लिएकाहरु पनि किन यति क्रूर हुन्छन् ? म त आफैँ अचम्ममा परें । बुद्ध धर्ममा लागेका केही अग्रजहरुको व्यवहारबाट अचम्म मात्र भइनँ, सारै चित्त दुख्यो । तर पनि म आफू त्यस्तो होइन र हुदिनँ भन्ने अठोटले मन बाँधे,’ उनले ती दु:खको बिट मारिन् ।
त्यसैबखत अनोजा चार दिनका लागि घर जाँदा सकस महसुस गरिन् । उनलाई हेर्न टोल, छिमेक, आफन्तहरुकाे घुइँचो लाग्याे । उनलाई अहिले पनि सम्झना छ, ‘घरभरि मान्छेहरु हुल गरेर आए, धेरै जसोले उनलाई भिक्षुणीको लुगा त्याग, बरु बिहे गरेर पठाउँदैनौं भन्ने आश्वासन दिए ।
उनले नमानेपछि बुबाले केही नदिने बताए । 'मैले भिक्षा लिएर खान्छु भनें,’ अनाेजा त्यस क्षण सम्झिन्छिन् ।
अनोजाको सपना थियो, मानिसहरुको भीडभन्दा पर विहार बनाउने । त्यसका लागि पवित्र सुन्दरीघाट, बाग्मती नदी र चोभार डाँडाको फेदमा विहार निर्माण स्थल छाने । (बाग्मती नदीको किनारमा रहेको सुन्दरीघाट अर्थात् सुलक्षण तीर्थमा डुबुल्की मार्दा पापमोचन हुन्छ भन्ने भनाइ छ ।)
अनोजा पनि नदीको सांस्कृतिक, धार्मिक मूल्य मान्यता र पौराणिक कथाहरुबाट प्रभावित थिइन् । अनुयायी तथा भक्तजनहरुबाट पाएकाे सहयोग र दानबाट उनको सपनाको ‘सुलक्षण कीर्ति विहार’ २०५३ मा स्थापित भयाे । जहाँ ३८ फिट अग्लो शिशु बोधिसत्वको सालिक उभिएको छ ।
विहारमा अहिले उनले ४० जना अनाथ बालबालिकाहरुलाई पढाउने र संरक्षण दिइरहेकी छिन् । उनले वृद्ध होस्टेल र अस्पताल बनाउने सपना देखेकी छिन् ।
उनी भिक्षुणी मात्र पनि होइनन्, अनेकन रेकर्ड राख्ने व्यक्तित्व पनि हुन् । एक हिसाबले महत्त्वकांक्षी भिक्षुणी हुन् । उनी नै पहिलो विश्व यात्रा गर्ने भिक्षुणी हुन् । उनी नै ड्राइभिङ लाइसेन्स लिएकी भिक्षुणी हुन् । उनी नै मोबाइल बोक्ने र फेसबुक चलाउने पहिलो भिक्षुणी हुन् । हरेक दिन फेसबुक लाइभबाट उनी बोधिसत्व वाणीहरु बाँड्छिन् ।
एसएलसी फेलदेखि विद्यावारिधिसम्म
उनी भिक्षुणी हुँदा ५ कक्षासम्म पढेकी थिइन् । त्यसपछि भक्तपुरको सरस्वती माविमा एकैपटक ९ कक्षामा भर्ना भइन् । तर एसएलसीमा फेल भएपछि नमज्जा लाग्यो उनलाई । उनको लक्ष्य गुरुमा मात्रै पनि थिएन, त्यसका लागि पढ्नुपर्छ भन्ने बुझेकी थिइन् । पढ्ने सर्तमा उनी धर्मकीर्ति विहार गइन् । दोस्रो पटक परीक्षा दिइन् २०३४ सालमा । साँच्चिकै यो उनको जीवनको पनि परीक्षा थियो । उनी एसएलसी उत्तीर्ण भइन् ।
बुद्धसम्बन्धी अध्ययनमा अनोजाको निकै रुचि छ । भारतबाट बुद्ध धर्म/दर्शनसम्बन्धी अध्ययन गरिन् । पहिलोपटक एसएलसी फेल भएकी उनी अध्ययनको भोकले विद्यावारिधि समेत गरिन् । उनले बनारसबाटै बुद्ध दर्शनमा विद्यावारिधि गरिन् र डाक्टर अनोजा भइन् । साथै विद्यावारिधि गर्ने पहिलो भिक्षुणी पनि उनी नै बनिन् ।
फुलनदेवीलाई दीक्षा
भारतमा डाँकुका रुपमा परिचित फुलनदेवीका श्रीमान् हिमाञ्चलका बौद्ध धर्मावलम्बी थिए । त्यसकै प्रभावले नागपुरमा फुलनदेवीलाई उपशिका पञ्चशील ग्रहण गराउन नेपालबाट धम्मावत्री गुरुमासँग डा. अनोजा पनि गुरुमा भएर त्यहाँ गएकी थिइन् ।
हिन्दी र अंग्रेजी भाषामा दक्खल डा. अनोजासँग फुलनदेवी गफिन्थिन् । डाँकु छविकी फुलनदेवीसँगको सामिप्यताबाट अनाेजाले बाध्यता र परिस्थितिले मान्छेलाई कस्तो स्वरुपसम्म बनाउँदो रहेछ भन्ने बुझ्न पाइन् । फुलनदेवीले आफ्नै अगाडि आमाबुबाको हत्या देखेकी थिइन् । उनी बलात्कृतसमेत भएकी थिइन् । यसकारण फुलनदेवीमा आक्रोश र विद्राेह भाव हुनु स्वाभाविक हाे भन्ने लाग्याे अनाेजालाई लाग्याे ।
उनी भन्छिन्, ‘कोही मान्छे आफैं गलत बाटोमा लाग्दैनन्, त्यसका लागि समय, परिस्थिति र घटनाक्रम दोषी हुन्छन् । फुलनदेवी पनि त्यसैको सिकार भएकी थिइन् ।'
जापानी राजकुमारीलाई गुरुमा
फुलनदेवीलाई दीक्षा दिने क्रममा गुरुमाहरुको भ्रमणको सम्पूर्ण दायित्व जापानी राजपरिवारकी सदस्य मेचिको इतोले लिएकी थिइन् । अनोजासँग प्रभावित बुद्धका अनुयायी मेचिकोले जापानमा २३ वटा मन्दिरहरुका साथै स्वयम्भू महाचैत्यको प्रतिलिपि स्थापित गर्ने परिकल्पना सुनाइन् ।
‘मैले उहाँको याेजनामा सहयोग गर्न पाएँ । पछि उहाँले आफ्नी छोरी जेन्सो इतोलाई २०५५ सालमा दीक्षाका लागि नेपालमै ल्याउनुभयो ।'
सोल्टी होटलमा बसेका जापानी राजपरिवारका सदस्यलाई बाजागाजासहित चोभारस्थित सुलक्षण विहारमा जेन्सी इतोलाई महामाया देवीका रुपमा प्रवचन दिन लगाइन् ।
यस्तै लगाव, विश्वास र सहृदयका कारण डा. अनोजा विश्वभरि बुद्ध दर्शनका अनुयायीहरुमाझ उत्तिकै प्रिय गुरुमा बनेकी छिन् ।
फोटो सबै श्रुति श्रेष्ठ, नेपाली पब्लिक