प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बिमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बिमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रममा २ माघ २०७६ यता बिमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियंका यादवले बताइन् । गत माघ २ गतेखि प्रदेश २ का १३६ वटै पालिकामा छोरी शिक्षा बिमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बिमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर संकलन गर्ने काम भइरहेको बताइन् ।
प्रदेशका १३६ पालिकाले छोरी बिमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ । सुबिसु इन्टरनेट कम्पनीले बिमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा छ । जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर ३ लाखको बिमा गरिदिने व्यवस्था गरेको छ । उक्त बिमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् । सुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर १ लाखको बिमा प्रदेश सरकारले गर्ने गरेको थियो ।
मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बिमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बिमाको तथ्यांक रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बिमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो ।