सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद पुनः बल्झिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएसँगै नेकपाको आन्तरिक विवाद कर्णालीबाट बल्झिएको हो ।
आइतबार मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका सांसदले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव ल्याउनेमा १८ जना सांसद थिए । जसमा पूर्वमाओवादीका ३, माधवकुमार नेपाल पक्षका ७ र ८ जना प्रधानमन्त्री केपी शर्मा ओली समूहका थिए ।
तर, दुई दिनको छलफलपछि प्रचण्ड–माधवकुमार नेपाल समूह एक भएर अविश्वासको प्रस्ताव फेल गराउन सहमत भएको नेकपाका एक नेताले बताए । मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाउने अभियानबाट माधवकुमार नेपाल समूह पछि हटेको छ ।
आइतबार हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरु पछि हट्न सहमत भएको प्रदेश सांसद विन्दमान विष्टले जानकारी दिए । उनले भने, ‘दुई दिनदेखिको छलफल सकारात्मक भयो । केही साथीहरु हस्ताक्षर अभियानबाट फर्कनुभयो । आज बस्ने भनिएको संसदीय दलको बैठकमा पनि सहभागी हुनुभएन ।’
अविश्वासको प्रस्ताव आएपछि केन्द्रमा पनि नेताहरुबीच छलफल भएको थियो । नेपाल–प्रचण्डबीच सोमबार छलफल भएर केन्द्रीय सदस्य निरज आचार्यलाई कर्णालीको विवाद मिलाउन सुर्खेत पठाइएको थियो ।
आचार्यले छलफल गरेपछि नेपाल समूहका नेताहरु हस्ताक्षर अभियानबाट पछि हट्न सहमत भएको विष्टले बताए । कर्णालीमा विवाद बढे पनि यसको योजना केन्द्रमा नै बनेको नेकपाका नेताहरु बताउँछन् । प्रधानमन्त्री ओलीको योजनामा नै अविश्वासको प्रस्ताव आएको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।
केही समयअघि प्रचण्डले ओलीसँग मिलेर कार्यकारी पद लिएकाले भैंसेपाटी गठबन्धन भत्किएको बताइएको छ । नेकपाको आन्तरिक विवादमा लामो समयदेखि प्रचण्ड–नेपाल एक भएका थिए तर पछिल्लो समयमा प्रचण्डले ओलीसँग मिलेर आफूलाई धोका दिएको नेपालको भनाइ थियो । तर पुनः कर्णाली विवादले दुवै नेतालाई एक ठाउँमा ल्याएको नेपाल निकट एक केन्द्रीय सदस्यले बताए ।
केन्द्रमा नेकपाको विवाद मिल्यो भनिएको एक महिनामै कर्णालीबाट पुनः विवाद सुरु भएको छ । कर्णालीबाट सुरु भएको नेकपाको विवाद पुनः केन्द्रमा आए प्रचण्ड–नेपाल एक ठाउँमा र ओली अर्को ठाउँमा हुने देखिन्छ ।
सोमबार कर्णालीका मुख्यमन्त्रीले ओली निकट मानिएका प्रमुख सचेतक गुलाफजंग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक बनाएका छन् । शाहले आज बोलाएको संसदीय दलको बैठक नै हस्ताक्षरकर्ता सांसद उपस्थित नभएपछि त्यसै सकिएको एक सांसदले बताए । सचेतक नेपालीले ७ कात्तिकमा ११ बजे संसदीय दलको बैठक बोलाएकी छन् ।
कर्णाली प्रदेशको शक्ति संघर्षमा पुनः नेकपा विभाजित भएको छ । जसमा ओली पक्ष र प्रचण्ड नेपाल पक्ष देखिएका छन् । उसो त नेपालले अविश्वासको प्रस्ताव आएको दिन नै शाहीलाई हटाउने होइन, सुध्रिनुपर्ने अभिव्यक्ति दिएका थिए । अन्ततः शाहीलाई सुध्रिने अवसर मिल्ने देखिएको छ ।