काठमाडौं– भदौ महिनाको मध्यतिर निषेधाज्ञा जारी भएको बेला काठमाडौंका मुख्य–मुख्य चोकहरुमा नयाँ ट्राफिक प्रहरीहरु देखिए । जानकारीमुलक सन्देश बोकेर चोकको ट्राफिक प्रहरी केन्द्र र सडक छेउ एकटकले नचलमलाई उनीहरु उभिए ।
यसरी सन्देश बोकेर उभिएका ती ट्राफिक प्रहरी सजिव थिएनन् । ती ट्राफिकको पहिरनमा उभिएका ट्राफिक डमी प्रहरी हुन् । जो झट्ट हेर्दा साँच्चिकै ट्राफिक प्रहरी देखिन्छन् । कोरोना भाइरसको महामारी कायमै रहँदा यसरी चोकहरूमा ठड्याइएका पुत्लाले मास्क, फेस शिड पनि लगाएका छन् ।
डमी अर्थात् नमूना, उदाहरण वा संकेत बुझाउने कृतिम आकृति तर, काठमाडौं उपत्यकाका तीन जिल्ला २२ वटा ट्राफिक प्रहरीको अधिकांश डमीले पुरुष प्रहरीको प्रतिनिधित्व मात्र गरेका छन् ।
यद्यपी थापाथली, एयरपोर्टलगायत व्यस्त चोक र सडकको ट्राफिक व्यवस्थापन महिला ट्राफिक प्रहरीको काँधमा छ । कतै डमीमा महिला प्रतिनिधित्व पनि छन् कि भनेर खोज्दा कोटेश्वर, त्रिपुरेश्वर, पुलचोक र सिंहदरबार ट्राफिक मुख्य कार्यालय अगाडि एक/एक गरी चार महिला ट्राफिक प्रहरी डमीको ठडिएको पाइयो । तर तिनमा महिलाकाजस्ता देखिने कपालबाहेक महिला हो भन्ने संकेत अरु केही छैनन् ।
ती डमीमा महिलाको जस्तो लामो कपाललाई डल्लो बनाएर जुरो बनाइएको थियो । एक डमी भने शारीरिक बनावटको हिसाबले महिलाजस्तै देखिएपनि बाँकीको कपालबाहेक अरु केही पनि महिला शारीरिक वनावटसँग मेल खाँदैन । बनिआएका जेजस्तो डमी छ त्यसमा कपाल हालिदिएको भन्ने प्रष्ट देखिन्थ्यो ।
हतारमा महिला प्रतिनिधित्वको प्रश्न आउन सक्छन् कि भनेर कपाल हालिदिएको वा कसैले ट्राफिक प्रहरी महिला पनि हुन्छन् भनेर सदासयता देखाएकोजस्तो संकेत ती डमीले दिइरहेका थिए ।
यसै सन्दर्भमा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रामेश्वरप्रसाद यादवसँग कुरा गर्दा उनले महिला ट्राफिक प्रहरीको डमी नबनाएको नै स्वीकारे । उनले भने, ‘अहिले भएका डमीकै कपालहरु हालिदिएका होलान् तर, हामी छिट्टै थप २२ वडा डमी महिला वनावटमा थप्दैछौं ।’
हेरौं महिलाको रुपमा राखएिका डमी ट्राफिक प्रहरीका फोटोहरुः