‘ढ्यान्ट्यारान्ऽऽऽ, नमस्कार, यो रेडियो घाँसेमाटे हो । कोरोना कहरमा तात्तातो कोरोना समाचार लिएर आएको छु, म करनकुमार । सुरुमा प्रमुख समाचार– घाँसेमाटेमा पहिलो कोरोना संक्रमण ....।’
रेडियो कानैमा टाँसेर सुनिरहेका फट्याङ्ग्रालाई पहिलो कोरोना संक्रमणको समाचारले यसरी झट्का दियो कि– एकैपटक उफ्रेर ढिस्कोछेउको पोखरीमा छ्वाप्ल्याङ हुन पुगे । पोखरीको पानीमा छेउसम्म तरङ्ग फैलियो ।
'ला बर्बादै हुने भयो, घाँसेमाटेमा कोरोना छिर्यो’ भनेर फट्याङ्ग्रा कमिलाको प्वालतिर कुलेलम ठोके । कमिलाको प्वालमा पुग्दा कमिला थिएनन्, प्वालको ढोकामा तुर्लुङ्ङ ताल्चा झुन्डिएको थियो ।
- उड्दै, जम्प मार्दै बाटो, चोक, झाँडी, प्वाल सबैतिर कमिलालाई खोजे । तर कतै कमिलालाई भेट्टाएनन्, कसैले कमिलालाई देखेको पनि भनेनन् । उनलाई झन् चिसो पस्यो, ।
‘हत्तेरी यस्तो बेला कमिलाकुमार कता डुलिरा’को होला ?’ फट्याङ्ग्रामा चिन्ता पस्यो । कमिलाको खोजीमा फट्याङ्ग्रिन थाले ।
पोखरीमा छ्वाप्ल्याङ्ङ हुँदाको निथ्रुक्कमा थप असिनपसिन हुँदै फट्याङ्ग्रा छेपारोकहाँ पुगे । हस्याङ्फस्याङ् गर्दै छेपारोलाई सोधे, ‘मित्र कमिलाकुमारलाई देख्यौ ?’
‘अँ देखेको थिएँ । अघि, यतै लुखुरलुखुर हिँडिराथे, उनको पछि एक दुई जना मास्क ला’का कमिलाहरु नि देख्याथें,’ छेपारोले भने ।
‘को, को थिए ? कतातिर गए त तिनी ?’ फट्याङ्ग्राले फेरि फटाफट सोधे ।
‘तिम्रो कमिलाको पछिपछि लाग्ने छेपारो भन्ठान्यौं कि के ? कमिला कता जान्छ, के गर्छ भन्ने ड्युटीमा खटाका छौ र मलाई ?’ छेपारोले आफ्नो रङ देखाइदियो ।
‘धेरै नबाउँटिऊ, घाँसेमाटेमा कोर्ना आको, कोर्ना सल्केर जाउलाऊ, होस गर,’ छेपारोलाई उपदेश दिएर फट्याङ्ग्रा कमिलाको खोजीमा हेलिघोप्टे उडाइमा फुटुटु उड्यो । बेला बेला ल्यान्डिङ हुँदै त्रिपल र छप्पल जम्प पनि मार्थे ।
उड्दै, जम्प मार्दै बाटो, चोक, झाँडी, प्वाल सबैतिर कमिलालाई खोजे । तर कतै कमिलालाई भेट्टाएनन्, कसैले कमिलालाई देखेको पनि भनेनन् । उनलाई झन् चिसो पस्यो, ।
‘ला घाँसेमाटेमा पहिलो कोरोना संक्रमण हाम्रै कमिलालाई भएछ कि के हो, आइसोलेनमा लगेछ क्यारे, त्यही भएर प्वालमा नि ताल्चा छ, छेपारोबाहेक अन्त कसैको देखभेट पनि भएको छैन,’ चिन्ताले फट्याङ्ग्रा झन् फट्याङ्ग्रिए । कमिलालाई कतै नभेटेपछि ढिस्कोतिर सुस्ताउने सुरमा फट्याङ्ग्रा त्यता लागे ।
- फट्याङ्ग्रालाई उल्का औडाहा भइसकेको थियो । फेरि संयुक्त लगानीको रेडियो नि उनको साथमा नभएसी उनलाई लाग्यो, ‘कोर्नाले घरैभित्र बूढाबूढीबीच त डिस्ट्यान्स मेन्टेनं गराइदेको बेला संयुक्त लगानी गतिलो नहुने रैछ ।’
के अचम्म ढिस्कोमा त कमिला उपरखुट्टी लाएर रेडियोको कान बटारिराथे । पानी र पसिना तपतपाउँदै फट्याङ्ग्रा कमिलाको अघि गएर कराए ।
फट्याङ्ग्रा : कता गइरा’को ? मैले कहाँ, कहाँ मात्र खोजिनँ । प्वालमा नि ताल्चा झुन्ड्याएर को मास्क लाकोहरुसँग गाथ्यौ रे त ? म त घाँसेमाटेको पहिलो कोर्ना लाग्ने तिमी नै हौ कि भनेर आइसोलेसनमा लगेछ कि भनेर आत्तिराथे ।
कमिला : हैन, मलाई त केही भा छैन, त्यही घाँसेमाटेमा पनि कोर्ना छि¥यो भनेर क्वारेन्टिन केन्द्र कहाँ बनाउने भनेर सल्लाह गर्न गाथेँ । तिमीलाई खबर गर्नै भ्याइएन ।
फट्याङ्ग्रा : (आत्तिँदै) थुप्रैलाई लाग्या हो र कोर्ना ?
कमिला : हैन, के थाहा अरूलाई नि लाग्ला नि ? फेरि अन्तबाट आउने हाम्रा बासिन्दालाई निगरानी गर्न क्वारेन्टिनमा राख्न प¥यो । त्यही भएर ।
फट्याङ्ग्रा : (बुझे जसरी) त्यो त हो, पहिले नै रोकथामको उपाय लगाउनु राम्रो नि ।
०००
साँच्चै घाँसेमाटेको रेडियोको घण्टे समाचारमा कोरोना संक्रमणको संख्या जोडिँदै आउन थाले । हरेक घण्टा कोरोना देखिने बढ्दै गएपछि घाँसेमाटेका सरकार र बासिन्दा हावाकावा हुन थाले । के गर्ने कसो गर्ने ? मेलोमेसो सबै गन्जागोल हुन थाल्यो । हठात् घाँसेमाटेको सरकारले ल्याप्पै लकडाउनको घोषणामा ल्याप्चे ठोकिदिए । सबैलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाए । घाँसेमाटेका सडकमा सरकारी गाडीहरु र एम्बुलेन्सहरु साइरन बजाएर कुद्नेबाहेक अरू देखिएन । घाँसेमाटेका बासिन्दा आफ्नै घरभित्र पूरै अघोषित बन्दी बने ।
पहिलो एक महिना त कमिला र फट्याङ्ग्राको पनि भेट नहुने भयो । उनीहरु ढिस्कोमा पनि नआउने भए । अब समस्या रेडियो कसले लाने भन्नेमा भयो ।
फट्याङ्ग्रा : अब कसैसँग भेट्न पनि नपाउने, घरबाहिर निस्कन नि नपाउने भएसी रेडियोचाहिँ म लाँन्छु है । यसो ट्यामपास गर्न सजिलो हुन्छ मलाई ।
कमिला : त्यो त हो, तर मलाई नि क्वारेन्टिन केन्द्रतिरको काम आइराख्छ होला । कहाँ कहाँ कस्तो कस्तो रिपोर्ट आयो बुझ्न नि समाचर सुन्नै पर्यो । बरु यो कोर्ना हटेपछि तिमी नै राख सधैं । कमिलाको कुरा फट्याङ्ग्राले काट्न सकेन । बिस्तारै मन्टो हल्लाए । रेडियो भिरेर कमिला प्वालतिर होम क्वारेन्टिनमा छिरे । फट्याङ्ग्रा लुरखुराउँदै घाँसे घरतिर लागे ।
एक महिना बित्यो, दुई महिना बित्यो, तीन महिना बित्यो लकडाउन भइ नै रह्यो । काम गरिराख्नुपर्ने फट्याङ्ग्रालाई उल्का औडाहा भइसकेको थियो । फेरि संयुक्त लगानीको रेडियो नि उनको साथमा नभएसी उनलाई लाग्यो, ‘कोर्नाले घरैभित्र बूढाबूढीबीच त डिस्ट्यान्स मेन्टेनं गराइदेको बेला संयुक्त लगानी गतिलो नहुने रैछ ।’
- यसरी दिन बढ्दै गयो, उनीहरुबीचको मेन्टेन गरिएको डिस्ट्यान्स पनि घट्दै गयो । अन्ततः कहिले कमिला फट्याङ्ग्राको घरमा, कहिले फट्याङ्ग्रा कमिलाको घरमा बस्न थाले ।
तन, मन, मस्तिष्क सबै थाम्न नसकेपछि फट्याङ्ग्रा घरबाट निस्किए । ओहो ! घरबाहिर निस्कँदा के के न होला भनेको, सबै उराठलाग्दो थियो । उनी सरासर कमिलाको ढोकामा ढकढक गर्न पुगे । कमिलाले प्वालबाट चिहाए, फट्याङ्ग्रा देखेपछि ढोका खोले । तीन महिनापछि आफ्नो मित्र भेट्दा खुसी त भए, तर एकैछिनमा फट्याङ्ग्रालाई झपारिहाले ।
कमिला : लकडाउनमा घरमै लक नभएर किन चहारिरा’को ?
फट्याङ्ग्रा : (मलिन स्वरमा) म त अब घर बस्न सक्दिनँ हुँला, यसरी चुपचाप बस्दा त मेरो सासै रोक्याजस्तो हुन्छ भन्या ।
कमिला : (चनाखो भएर) सास रोक्या रे ? कतै तिम्लाई नि कोर्ना सर्यो कि के हो ?
फट्याङ्ग्रा : म कतै निस्केको त छैन । आजै हो, सरासर तिम्रैमा आको हो । कसम ।
त्यसदिनदेखि उनीहरु दुई जना दिनमा एकपटक ढिस्कोमा डिस्ट्यान्स मेन्टेन गरेर भेट्न थाले । सँगे गफिन थाले । सँगै रेडियो सुन्न थाले । बेलाबेला एउटाले गाउने अर्कोले कम्मर मर्काउन पनि थाले ।
यसरी दिन बढ्दै गयो, उनीहरुबीचको मेन्टेन गरिएको डिस्ट्यान्स पनि घट्दै गयो । अन्ततः कहिले कमिला फट्याङ्ग्राको घरमा, कहिले फट्याङ्ग्रा कमिलाको घरमा बस्न थाले । घाँसेमाटे सरकार पनि फिटिफिटी थियो । एकदिन दुईखुट्टै, एकदिन चारखुट्टे, अर्कोदिन बहुखुट्टे हिँड्न मिल्ने गरी लकडाउनको लक अलि खुकुलो पारे ।
०००
लक अलि खुकुलो पारेपछि सरकारले जुन ठाउँमा कोरोना देखियो, त्यस ठाउँ सिल गर्ने नीति लियो । यसरी टोलहरु सिल हुने क्रम पनि बढ्दै थियो । फट्याङ्ग्राको फट्याङ्ग्रिने बानी छुटेको थिएन । आफ्नो खुट्टाको पालो परेको दिन फट्याङ्ग्रा दिनभरी यताउति डुल्थ्यो । कमिला भने ढिस्कोभन्दा बाहिर गएको थिएन ।
एकदिन कमिला र फट्याङ्ग्रा ढिस्कोमा रेडियो सुनिराथे । रेडियो घाँसेमाटेको टोल सिल गर्ने क्रम कमिला र फट्याङ्ग्राको छिमेकी बस्तीसम्म आइपुगेको समाचार बज्यो । कमिला शान्त भए, फट्याङ्ग्राको भने दिमाग उल्टो चल्यो ।
फट्याङ्ग्रा : तिमीलाई यही ढिस्कोमा बसिराख्न झ्याउ लाछैन ?
कमिला : ला’छ नि । लाएर क्यार्नु ?
फट्याङ्ग्रा : क्यार्नु नि, अब डुल्ने नि । म डुलेकै छु त, केही कोर्ना, सोर्ना भा छैन । यो हल्लै बढी हो क्या ।
कमिला : खै के हो के हो ? भन्दाभन्दै छिमेकी बस्तीसमम आइसक्यो कोर्ना ।
फट्याङ्ग्रा : यसो गरौं, तिमी हामी यसरी चुप लागेर हुँदैन हेर । (सम्झाए जसरी) कोर्ना के रहेछ भनेर बुझ्न पनि सिल गरेको छिमेकी बस्ती जानै पर्यो ।
कमिला : के नचाहिने कुरा गर्या? काँ जाने अब ?
फट्याङ्ग्रा : मलाई सिल हुँदा बस्ती कस्तो हुन्छ हेर्न मन पनि लाग्याछ । अनि कोर्ना साँच्चै के हुँदो रैछ बुझ्न पनि वस्ती त जानैपर्छ । तिमी मेरो साथी हौ भने तिमीले मलाई साथ दिन्छौं भन्ने लग्याछ । नत्र कट्टी ।
०००
फट्याङ्ग्राको कट्टी सुनेर कमिला छिमेकी बस्ती जान बाध्य भए । छिमेकी बस्ती सुनसान प्रायः थिए । उनीहरु त्यहाँ गल्लीतिर लुसुक्क लागे ।
फट्याङ्ग्रा : (कमिलालाई हौस्याउँदै) यो पनि एउटा गजबको अनुभव भयो मित्र । ल भन त, अरुबेला यो गल्लीमा कति भीड हुन्थ्यो, यसरी फुक्काफाल भएर डुल्न पाइन्थ्यो त ?
कमिला केही नबोली फट्याङ्ग्राको पछिपछि थिए । गल्ली सकेर चोक निस्कँदै थिए । ठ्याक्क फट्याङ्ग्रा गल्लीबाट चोकमा पुगे । मेरा बा, त्यहाँ त एक हुल प्रहरीहरु पहरा दिएर बसेका थिए । प्रहरी देख्नेबित्तिकै फट्याङ्ग्रा फरक्क फर्किएर गल्लीतिरै फर्किए । तर एक पुलिस जवानले देखिहाले ।
- कमिला बिस्तारै आफ्नो इमान बोले, ‘कोर्नाले सिल भाको बस्ती कस्तो हुँदो रहेछ भनेर हेर्न आको ।’ फट्याङ्ग्राले जवानको आँखा छलेर ‘चुपचुप’भनेर गरेको ओठे संकेत कमिलाले देख्दै देखेन ।
भाग्न तयार भएको फट्याङ्ग्रा र कमिलालाई दुई जवानले टाढैबाट अंकुसे लट्ठीले कठालोमा उधिनेर तानिहाले । ‘ए ए, तपाईंहरु को हो हँ, कहाँबाट आउनुभा’को, कसरी छिर्नुभयो गल्लीमा । कोर्ना लाग्या भन्ने था छैन ?’ जवानले प्रश्न तेर्साइहाले ।
फट्याङ्ग्राको होसहवास उडिहाल्यो ।
कमिला बिस्तारै आफ्नो इमान बोले, ‘कोर्नाले सिल भाको बस्ती कस्तो हुँदो रहेछ भनेर हेर्न आको ।’ फट्याङ्ग्राले जवानको आँखा छलेर ‘चुपचुप’भनेर गरेको ओठे संकेत कमिलाले देख्दै देखेन ।
‘ल अब तपाईंको पनि कोर्ना जाँच्नुपर्छ’ भनेर कमिला र फट्याङ्ग्रालाई भ्यान हालिहाले । भ्यान साइरन बजाउँदै कोर्ना जाँच केन्द्रतिर हुईंकियो ।
०००
त्यसको ७२ घण्टापछि कमिला र फट्याङ्ग्रा ढिस्कोमा रेडियो सुनिराथे । रेडियोले समाचार बजायो, ‘ढ्यान्ट्यारान्ऽऽऽ, सिल गरिएको बस्तीमा भेटिएका दुई जनामा कोरोना पुष्टि, सँगैको अर्को वस्ती पनि सिल गर्ने तयारी !’