कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ ।
दैनिकी खल्बलिनु, रोजगारी\कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा. धीरेन्द्र पौडेलका अनुसार कोभिड–१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६-७ जना बिरामी अस्पताल आउँछन् ।
‘प्यानिक अट्याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो कि भन्दै आउनुहुन्छ,’ उनले भने । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा. पौडेलको भनाइ छ ।
दिग्दारीपन, आत्तिने\डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढिरहेको उनले बताए ।
‘छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो,’ डा. पौडेलले भने, ‘नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।’ उनले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताए ।
बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताए । ‘अस्पताल आउने झन्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ,’ उनले भने, ‘कोभिड–१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।’
आत्महत्या
नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा २ हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताए । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउन्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाउ । उनले मानसिक समस्या लुकाउने र स्विकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको बताए । वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताए ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताउनुभयो । ‘योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ,’ उनले भने । डा. पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताए ।
‘शरीरमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठीक हुन्छन्,’ उनले भने । अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ ।
मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताए । उनले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने बताए ।
‘अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौं,’ उनले भने, ‘हरेक व्यक्ति शारीरिक मात्र होइन, मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।’ यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । बर्सेनि अक्टुबर १० मा यो दिवस मनाइन्छ ।