जीवनको सुगन्ध, जीवनको रङ्ग, जीवनको तरङ्गमा साथीको भूमिका र अस्तित्व माथि नै हुन्छ । अनेक सम्बन्धमा मैत्री सम्बन्धहरु भावनाबाट जोडिन्छ, यदि सकियो भने पनि भावनाबाटै सकिन्छ । यो भावनात्मक सम्बन्ध निर्धक्कता, निर्भीकता, विश्वास र भरोसाका प्रतिरुप पनि हुन् ।
मेरा पनि साथीहरु छन्, तीमध्ये त्यस्ता भावनात्मक सम्बन्धको कसीमा राख्न मिल्नेहरु निकै कम छन् । मनका कुराहरु बेफिक्री खोल्न र पोख्न सकिने औंलाको गन्तीमा आउने साथीहरुमध्ये एक हो प्रिया (नाम परिवर्तन) ।
उनी बालसखी होइनन्, स्कुल–कलेजका साथी पनि होइनन्, न त पेसागत क्षेत्रकै । कामको सिलसिलामा उनीसँग सिनामंगलस्थित बाजेको सेकुवामा भेट भएको हो । त्यो पहिलो भेटमा उनलाई मात्र होइन, उनका केही साथीसँग पनि एकैसाथ भेटेकी थिएँ । अनि सुरु भयो नियमित भेटघाट, गफगाफ । भेट यसरी बाक्लियो कि हाम्रो दैनिकजसो भेट हुन थाल्यो ।
पत्रकारिताका क्रममा विभिन्न क्षेत्रका मान्छेहरु भेट्नु सामान्य कुरा हो । कान्तिपुर पब्लिकेसनको नारी मासिकमा १७ वर्षे पत्रकारिताले मलाई धेरै कुराहरु दियो । सबैभन्दा बढी चाहिँ केही त्यस्ता अनुभव, अनुभूति र सम्बन्ध दियो, जसले मेरो समयकालमा माने राख्छन् । यही ‘नारी’सँगको मेरो सम्बन्धले जोडेको थियो प्रियासँगको सम्बन्ध ।
काठमाडौंकी सम्पन्न परिवारकी छोरी, सानैदेखि विदेशी ब्रान्डका कपडा, जुत्ता, खेलौना र क्याडबरीको थुप्रोबाट सुरु भएको जीवन । आमा बैंकर, बुबा कहलिएका व्यवसायी, दुवै स्वावलम्बी । कौसी–कौसीको देखादेखबाट जोडिएको सम्बन्धको सबैले तारिफ गर्थे, अझ भनूँ– लोभ गर्थे । तर प्रियाका आमाबुबाको सम्बन्ध लामो समयसम्म उस्तै रहन सकेन, अन्ततः उनीहरु छुट्टिए ।
- साथीहरुकै अगाडि आफ्नो माया प्रीयालाई गाली गर्नु, बेइज्जतीजन्य भाषा प्रयोग गर्नु अभयका लागि सामान्य थियो ।
त्यसपछि प्रिया र उनको भाइ आमाको साथमा हजुरबुबा–हजुरआमासँगै बस्न थाले । बुबासँग टाढिए पनि आमाले त्यसको अभाव महसुस हुन नदिन हर प्रयत्न गरिन् । तर बालसुलभ मनमस्तिष्कमा आमाबुबाको पारपाचुकेको प्रभाव भने प्रियामा थियो नै । त्यस्ता भाव उनले मसँगको भेटमा व्यक्त गर्थिन् ।
आमाकै पहलमा प्रियाले विदेशमा होटल म्यानेजमेन्ट पढ्ने अवसर पाइन् । नेपाल फर्केर पाँचतारे होटलमा अनुभव पनि बटुलिन् । काममा इमानदार र मेहनती तथा व्यवहारमा सहृदयी स्वाभावले उनको चित्तले धेरैपटक दुःख पनि पाएको उनले रसिलो आँखा बनाएर सुनाउँथिन् ।
उनको रहर फेसन डिजाइनिङतर्फ बढ्यो, त्यो इच्छालाई पनि आमा र परिवारले कुनै छेकबार गरेनन् । पढाइपछि खर्च उठाउने दबाब कहिल्यै झेलिनन् । उनी आफ्नो जीवनको आफैं स्वतन्त्र र स्वच्छन्द मालिक थिइन् ।
त्यही फेसन डिजाइनिङ क्लासमा बालसखा अभय पनि सँगै थिए । बालसखा हुँदै उनीहरुको सम्बन्ध प्रेममा झाङ्गिसकेको थियो । यही प्रेम सम्बन्धले नै प्रियाको रुचि परिवर्तन भएर फेसन डिजाइनिङमा पुगेको थियो । खासमा यो मुख्य रुचि अभयको थियो । मनपर्ने मान्छेसँग दिनैभरि साथै रहन पाउने भएकाले उसले आफ्नो रुचि त्यता बढाएकी थिइन् । अभयले पनि प्रियालाई माया गर्थे तर उनमा पुरुष प्रधान मानसिकताको जडताको आडम्बर प्रस्टै थियो । कति तीता क्षणहरुको साक्षी म आफैं पनि हुन परेको थियो ।
साथीहरुकै अगाडि आफ्नो माया प्रियालाई गाली गर्नु, बेइज्जतीजन्य भाषा प्रयोग गर्नु अभयका लागि सामान्य थियो । प्रिया पनि यही पितृसत्तात्मक समाजको उपज, उनलाई पनि महिलाले सहनुपर्छ भन्ने लाग्थ्यो ।
- उनको मनमष्तिष्कमा मुटुमात्र आफ्नो, त्यस मुटुमा बग्ने रगत अभयको थियो । बिहे भयो, मेरो प्रिय साथी प्रीयाको लागि पनि चिन्तित थिएँ, उनको राम्रोको कामना गर्थें ।
उता प्रियाका बुबाले आमाले छोडेको केही समयमै अर्कीसँग बिहे गरेका थिए तर त्यसको केही वर्षमै देहान्त भइसकेका थिए । आमाले भने धेरै वर्षपछि मात्रै बिहे गरिन् तर आमाको पनि घरमै दुर्घटनाका कारण मृत्यु भयो । आमाबुबा गुमाएकी प्रियालाई हजुरआमा, हजुरबुबा, मामा, माइजूले अनाथको महसुस हुन नदिन प्रयत्न गरे । तर पनि उनी आफूलाई एक्लो र असहाय सम्झिन्थिन् । यही कारण पनि प्रिया अभयको हरेक कुरा मौनतामै स्विकार्थिन् ।
बिहेअघि नै उनी रुँदै मलाई सुनाउथिन्, ‘अभयले यसो गरे, उसो गरे, रिसाएर मोबाइल फुटाइदिए आदि आदि ।’ हरेक दिनजसो यस्ता रुन्चे कुराहरु फोनमा सुन्ने मलाई पनि बानी भइसकेको थियो । बिहेअघि नै यस्ता मानसिक यातना सुनेर बिहेको कुरा चल्दा मैले धेरैपटक म र उनकी हजुरआमाले सुझाव दियौं, ‘यस्तो व्यवहारले पछिसम्म दुःख दिन्छ, जीवनलाई व्यवहारगत रुपमा पनि हेर, बरु बेलैमाम छोडिदेऊ । तिमीले राम्रो जीवनसाथी पाउँछ्यौ ।’
उनको मुटु मात्र आफ्नो, त्यस मुटुमा बग्ने रगत अभयको थियो । बिहे भयो, तर म प्रियाको भविष्यका विषयमा चिन्तित थिएँ, उनको राम्रो भविष्यको कामना गर्थें । तर अभयको सोच र प्रियाप्रतिको व्यवहार झन् क्रूर हुँदै गयो । लाग्थ्यो– त्यहाँ कुनै प्रेम भन्ने कुरो कतै बाँकी छैन । फेरि प्रियाले मलाई बारम्बार फाने गर्न थालिन् । पहिले त अभयको मात्रै समस्या थियो, अब त घरका सासू, नन्दहरु पनि थपिए ।
- उनी आफैले आफ्नो जीवनलाई यति जटिल बनाए कि त्यो जटिलताको जालोबाट उनी फुत्किन पनि सक्दिनन्, उम्कन पनि ।
म अझै पनि उनलाई विकल्प दिन्थें, ‘कि सहनुपऱ्यो कि सम्बन्ध त्याग्नुपऱ्यो ।’ तर, प्रियाले न सहन सकिन्, न त सम्बन्ध त्याग्न । मेरो जस्तै उनको पनि मन मिल्ने कमै साथीहरु भएका कारण म उनको समस्या र पीडा पोख्ने भाँडो भएकी थिएँ । प्रिया म आफैलाई अजीवको पात्र लाग्छ, श्रीमानप्रति अथाह माया पनि, तर सन्तुष्टि छैन, गुनासो र समस्यौ समस्या । अभयका लागि ज्यानै फालेर लाग्ने प्रियाप्रति चाहिँ अभयको व्यवहार किन त्यस्तो भनेर धेरैपटक सोचें ।
घरपरिवारको समस्यामा पनि प्रिया निकै खटिन्थिन्, ससुरा अस्पताल हुँदा प्रियाले गरेजस्तो स्याहारसुसार सायदै कसैले गर्छन् । उनी आफैं भने खुसीभन्दा परको जीवन गुजारिरहेकी थिइन् । पैसा र सम्पत्तिले सुख किन्न सकिँदैन भन्ने कुरा मैले उनलाई हेरेर बुझेकी हुँ ।
उनी आफैंले आफ्नो जीवनलाई यति जटिल बनाइन् कि त्यो जटिलताको जालोबाट उनी फुत्किन पनि सक्दिनन्, उम्कन पनि । आफ्नो कमजोरीबाट साथीहरुले पनि उनीबाट फाइदा उठाउँछन् तर प्रिया भने त्यसलाई ‘धोका’ भन्छिन् ।
प्रवृत्तिगत रुपमा अहिलेको समाजमा संवेदनाहरु पाखा लाग्दै छन् । ‘मानिसहरु आउँछन्, जान्छन् । सम्बन्धहरु पनि समय सँगसँगै परिवर्तित छ । तर हाम्रो चेतनामा विचार र भाव भने निरन्तर चलिरहन्छ । त्यही भएर कुनै सम्बन्ध टुट्दैमा, कोही टाढिँदैमा केही हुँदैन । मनोबल बलियो बनाउनुपर्छ,’ मैले सकेको भनें । प्रियाले के कति बुझे कुन्नि ट्याक्सीबाट मलाई घर छाडेर उनी मौन भएर घर लागिन् ।
अहिले कोभिड १९ का कारण अभयको व्यवसाय ठप्प छ । उनी नियमित आमा, बुबालाई भेट्न जान सकेका छैनन्, प्रियासँगै अपार्टमेन्टमा छन् । यो समय उनीहरुको गुनासो, दुःखेसो सुन्न चाहिँ परेको छैन । मैले नै नियास्रो लागेर फोन गर्दा उनको खुसीको आवाज सुनेर म आनन्दित हुन्छु ।
- तिमीले एक थप्पडलाई सामान्य ठान्नु स्वाभाविक पनि हो । किनकि तिम्रा प्रिय मान्छेका यस्ता थुप्रै थप्पडहरु, आफ्नो फेसन शोरुमका सिसाहरु फुटाइएका दृश्य, घरकै दराज र टिभीहरु फुटाएका दृश्यहरुका अगाडि एक थप्पड फिका हुन पनि सक्छन् ।
प्रिया मेरा लागि साथी र सम्बन्ध मात्र होइन, सम्झनाहरु हुन् । उनका सारा कुराहरु सम्झँदै गएँ । प्रियाको प्रेम सत्य हो तर अभयको व्यवहारलाई उनले प्रेम र आलोचना उत्तिकै गर्नुपर्थ्यो । प्रेम गर्नु भनेको स्विकार्नु र सहनु मात्र पनि होइन नि, आलोचना पनि यसको कसी हो ।
मैले हिन्दी चलचित्र ‘थप्पड’ तीनपटक हेरें, प्रियालाई पनि हेर्न भनें । महिलाको आत्मसम्मानमाथिको ‘थप्पड’विरुद्धको प्रतिकार मीठो लाग्यो । तर विडम्बना मेरी प्रियालाई भने चलचित्रका दृश्यहरु कुनै एनजिओको विकासे वृत्तचित्रजस्तो लाग्यो ।
उनको बोली अझैं मेरो कानमा गुन्जिरहेको छ, ‘जाबो एक थप्पडले डिभोर्ससम्मको निर्णय लिनुपर्छ र ? विचरा केटाले कति माफी मागे । मलाई त मन परेन, वाहियात !’ म उनको कुराले निःशब्द भएँ, मौन बसें । तर सोचें, ‘मेरो मिल्ने साथी, म उनको मिल्ने साथी तर पनि उनको र मेरो सोच भिन्न, अनि कसरी उनले मेरो सुझाव स्विकार्न सक्थिन् ।’
तिमीले एक थप्पडलाई सामान्य ठान्नु स्वाभाविक पनि हो । किनकि तिम्रा प्रिय मान्छेका यस्ता थुप्रै थप्पडहरु, आफ्नो फेसन सोरुमका सिसाहरु फुटाइएका दृश्य, घरकै दराज र टिभीहरु फुटाएका दृश्यहरुका अगाडि एक थप्पड फिका हुन पनि सक्छन् ।
प्रिय प्रिया, आधुनिक समयमा आधुनिक घरमा सुविधामा हुर्किएका तिम्रा दिमागमा कतिखेर हाम्रा समाजले आफ्नो पुरातन सोच भर्न भ्यायो खै । म अलमलमा छु । प्रयत्नहरु तिमीले नै गर्ने हो, सुखी रहनू । आफैंभित्रको लुकामारीबाट जीवनको खुला आकाश एकपटक चिहाएर हेर्छौ कि त ?