काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।
कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले बताए ।
उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेसनमा रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।