कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौता भएको छ ।
आयोजनाको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी कूल ३ अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।
आयोजनाको कूल लागतमध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत १ अर्ब ५० करोड रकम प्रवर्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत ५ अर्ब छ ।
आयोजनामा नेपालका मुख्य सहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ्रे गाउँपलिकाका स्थानीयले समेत सेयरधनीका रुपमा लगानी गर्नेछन् । भौतिक निर्माणको काम सुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेसनमा जोडिनेछ ।