काठमाडौं - जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन् ।
उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिए । पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताए ।
निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए । जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए । रासस