कहिलेको मिलेमतो र कहिलेको खण्डितको चर्चा नगरौँ
टेकेका घुँडा झुकेका पराईसामु समर्पितको चर्चा नगरौँ
को भएको छ यहाँ जाज्वल्यमान, को भएको छ धारिलो
बेचेर आत्मसम्मान भएका यी चर्चितको चर्चा नगरौँ ।
000
यी हातहरुले वर्गीय विभेदको ज्वाला निभाउनु छ अब
आमाको रगत चुस्ने भ्रष्टहरुलाई सदैव धपाउनु छ अब
मैले कति पीडा भोगें अहँ न्याय पाउन सकिनँ कहिल्यै
दोषी पत्ता लगाउन यहाँ पीडित स्वयं धाउनु छ अब ।
000
यी छाँगाछहरा नाच्नुपर्छ सुनाखरी फुल्नुपर्छ
घर आँगनी हाँस्नुपर्छ छेउमै बाबरी फुल्नुपर्छ
भूत वर्तमान भविष्य सबैसबै काल मुस्कुराउन
यो जिन्दगी उज्यालो हुनुपर्छ मनभरि फुल्नुपर्छ ।
– सुर्खेत
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्