छल हुँदैन, कपट हुँदैन, स्वार्थ हुँदैन, अन्तर्घात हुँदैन
कसैलाई च्याप्नु या त फ्याँक्नुपर्ने विशेष कुनै जात हुँदैन
फरक पार्दैन वर्ग वर्ण कस्तो र कोख कसको भन्ने कुराले
आमाको वात्सल्यता र ममतामा किञ्चित पक्षपात हुँदैन।।
०००
मुठी उज्याउँछ, मान्छे दबाउँछ अनि मान्छे कज्याउँछ, मान्छे
पछि परिन्छ, ढिलो भइन्छ भनी आत्तिन्छ र अत्याउँछ मान्छे
विजयको होडबाजी मान्छेको मति, समय चल्दछ आफ्नै गति
समयलाई जित्ने सोच लिई समयलाई नै पछ्याउँछ मान्छे ।।
०००
पवित्र प्रेममा हुने समर्पण, उत्कर्षको कथा हो यो मेरो
मायामा हरेक पल गरिने, संघर्षको कथा हो यो मेरो
चिरा परे नि मनमस्तिष्क शरीर सामाजिक विरोधहरूले
दुःखमा सुखी भइने उच्चतम, हर्षको कथा हो यो मेरो ।।
– नेपालगन्ज
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्