जिन्दगीमा हुनेहरु, मनमा अटाएनन्
ऊबाहेक कोही अरु, मनमा अटाएनन्
समाज साक्षी राखेर,बिहे गरेको मान्छे पनि
विस्तारामा अटाए बरु, मनमा अटाएनन्
०००
कायम राख्न घरको सान, छोरी जन्माउन सकूँ
जोगाउन कुलको पहिचान, छोरी जन्माउन सकूँ
बाउको ईज्जतको लागी,मलाई छोड्ने मायालु,
मैले पनि तिमी जस्तै महान्,छोरी जन्माउन सकुँ
०००
पेलाइ हेपाइलाई नसोची ठट्टा आगो बोकेको भए
खेल्न छोडेर घुर्रा, चुंगी र गट्टा आगो बोकेको भए
आज यो उमेरमा विभेदविरुद्ध कराउनैपर्ने थिएन
उबेला आँखामा आँसुको सट्टा आगो बोकेको भए
–हेटौंडा, मकवानपुर
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्