मौलाएका छन् कालीपोके, खेतमा उन्नत बाली छैन
निन्याउरा छन् डाँफेहरू, गुराँसमा पनि लाली छैन
भाइ भारदारले भरिरहन्छन् देशका सम्पूर्ण कुर्सीहरू
माफ गर युवा तिम्रा लागि, कुनै दरबन्दी खाली छैन ।
०००
के छ स्थायी यो संसारमा ? आफ्नै श्वासको भर छैन
डेरामा छ सबको बसोवास, कसैको आफ्नो घर छैन
चराले पनि हर बिहान गाउँछ, आनन्दमयी जीवनको गीत
भोलिको पछि भाग्छौं हामी, पलको हामीलाई खबर छैन ।
०००
शून्य नहुँदा सन्तान, तीस हुन्छीन् आमा
लुटाएर मातृ वात्सल्य ईश हुन्छिन् आमा
फेर्छन् जब सन्तानले रंगीचंगी प्वाखहरू
ठुङ्छन् तिनै चुच्चोले विष हुन्छिन् आमा ।
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्