धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ,
तेलविनाको दियो बल्छ भने म बोल्दिनँ ।
छोरी भनेर गर्भपतन गर्नेहरुले जवाफ देऊ
नारीविना यो संसार चल्छ भने म बोल्दिनँ ।
०००
साहुसँग घरखेत फिर्ता लिन्छु भन्दै थियो
बजारको छेउमा घडेरी किन्छु भन्दै थियो
मेसिनमा परि ज्यान गुमाउनुअघि हर्केले
बाआमालाई सुख सन्तोष दिन्छु भन्दै थियो ।
०००
केही थान खादा केही थान माला जम्मा गरेर,
आफ्नै दाजुभाइ, श्रीमती र साला जम्मा गरेर
साहित्यिक कार्यक्रम भव्य भयो भन्ने देखाउँछन्
आफूले पर्म लगाएका केही खेताला जम्मा गरेर ।
–फेदिखोला–३, स्याङ्जा
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्