जीवनलाई एक होइन अनेक अवसर ठान्नु पर्नेरहेछ
जहाँ घाम हुन्छ त्यहाँ छायाको अस्तित्व मान्नु पर्नेरहेछ
ओ मान्छे ! एक्लो हुन्छु भनेर छातीमा भीड बोकेर नहिड
शान्तिले बाँच्न भीडमा पनि एक्लो हुन जान्नु पर्नेरहेछ ।
000
उद्यानमा फूलहरू रोजेर प्रेमलाई मालामा उन्न सकिदैन
शब्दकोशमा शब्दहरू खोजेर प्रेमलाई जालीमा थुन्न सकिदैन
म विशाल ब्रह्माण्डको ब्याप्तिलाई साक्षी राखेर भन्दैछु हजुर
ध्वनियन्त्रका सहायताले पनि प्रेमको ध्वनि सुन्न सकिँदैन ।
000
खेल्नु पर्छ जीवनमा सधैं तर जीवन कुनै खेल होइन
बाँधिनु पर्छ जीवनमा सधैं तर जीवन कुनै जेल होइन
नदीको प्रवाहझैं बग्दैबग्दै जानुको नाम हो जीवन
तर कहिले पनि खहरे र बाढीको फोहोरी भेल होइन ।
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्