फाइल कुर्छन् वर्षैभरि, योजना बनेर खातहरू
आश्वासनका दिँदै मीठा, चोपिला उस्तै बातहरू
रोकिने सर्त खुला गर्दै, कारोबार ठूलाठूला गर्दै
असारभरि विकासका, मिल्छन् सारा कागजातहरू ।
०००
कति उकाली जिन्दगीका, कति ओराली झरेको छु
खतरासित चुनौतीका, कैयौं सम्झौता गरेको छु
कैयौं संकट भोगिएर, एम्बुसबाट जोगिएर
नियतिको भारीसँगै, कैयौं जङ्घार तरेको छु ।
०००
सुख पर्दा मान्छेहरू, मानौं खुसीले आकाश छुन्छन्
दुःख परोस् तिनै फेरि, उस्तै विलाप गरी रून्छन्
सुख र दुःख आलोपालो, एउटाको मात्र के अर्थ भो
विपरीत मूल्य एक अर्काका, सधैं परिपूरक हुन्छन् ।
–कल्लाबारी, पाल्पा