चढाएर अबिर, फूलको थुङ्गा के माग्यौ आज
धरापमा राखी जीवनको डुङ्गा के माग्यौ आज
धाउँदिनँ मन्दिर, ढुङ्गाले विलाप सुन्दैन भन्थ्यौ,
झुकाइ शिर पुकारी उहीँ ढुङ्गा के माग्यौ आज ।
०००
विनम्रताले झुक्न सकूँ बाध्यतामा झुक्नु पर्दैन
स्वच्छ मन दृढ़ विचारले कसै अघि टुट्नु पर्दैन
लालीगुराँस भई नफुल्नुमा गुनासो छैन मलाई,
म भुइँफूल चमेली हुँ मैले खस्दा दुख्नु पर्दैन ।
०००
आँखामा राखिदिनु, मनमा बसालिदिनु
र आफ्नो मान्छेलाई दुःखमा सम्हालिदिनु
बस यति भएपुग्छ परिवारमा खुसी फूल्न,
प्रेमको भाषाले विश्वासको कद उचालिदिनु।
–सत्यवती गापा, गुल्मी
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्