मीठा सम्झनाहरू मनभरि बेरेँ, मुस्कुराइदिएँ
नमीठा विगतलाई मनैले केरेँ, मुस्कुराइदिएँ
दुनियाँसामु दुःख नदेखाउनु भन्नुहुन्थ्यो आमा
हिलोमा फुलेको कमललाई हेरेँ, मुस्कुराइदिएँ !
०००
पित्तललाई सुन देखेँ त्यहीँनेर गल्ती भयो
बैगुनीभित्र गुन देखेँ त्यहीनेर गल्ती भयो
चोट पाएँ हीरा ठानी काँचका झुरा सजाउँदा
जूनकिरीमा जून देखेँ त्यहीँनेर गल्ती भयो !
०००
दिनको भोक र रातको निद्रा हरेर मन दुखायौ
मझधारमा एक्लै छाडी खोली तरेर मन दुखायौ
आफ्नै हाल बुझ्न पनि आफैंलाई चिमोट्नुपर्छ अचेल
पवित्र मेरो प्रेममा असह्य घात गरेर मन दुखायौ
–पाँचखाल–६, काभ्रे
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्