पर्खाल नहोस् सम्बन्धमा धन सम्पत्तिको धाक नआओस्
नजोखिने मायाको साथ तुलोमा स्वार्थ छटाक नआओस्
शील स्वभावको गरगहना परिस्थितिको पहिरन भित्र
हर्षले टार्न सकियोस् भोकतिर्खा आँसुको छाक नआओस् ।
०००
गाढा सम्बन्ध फिक्का हुँदै जान्छ रङ्ग हराउँछ
अस्थिर मन आलस्य बढ्छ उमङ्ग हराउँछ
सामान्य कुरा गहन लाग्दा निचोडमा अन्योल
सहजै बन्दैन काम बेहोसीले ढङ्ग हराउँछ ।
०००
चारैतिर हेर्छु मन अघाउन्न तृष्णा जगाइरहन्छ्यौ
छुट्दै न छुट्ने त्यो जादुमय मोहनी लगाइरहन्छ्यौ
क्या अपारको आनन्द समीप तिम्रो प्रकृति प्रियतमा
खुसी थमाएर सबैको पीर चिन्ता भगाइरहन्छ्यौ ।
०००
अठोट गर्नोस् सुरक्षाको घेराभित्र रहनेछु
अनावश्यक कतै जान्न डेराभित्र रहनेछु
यो समय हो साहस बटुल्दै धैर्य हुन सक्नु
हतार छैन हुन टाढा यिनै मेरा भित्र रहनेछु ।
–इजरायल
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
