धड्कनमा चटयाङ आँखामा झरी भएको बेला
सास बोझ र मस्तिष्क चितासरि भएको बेला
ए ‘जुनू’ भनी आयौ तिमी सिङ्गो आकाश लिएर
जिन्दगी पिँजडामा थुनिएको चरी भएको बेला ।
०००
चोखो माया गर्नेलाई नै छल गरिन्छ यहाँ
देखावटी मायालाई मलजल गरिन्छ यहाँ
मन पेट सबै लुटेपछि तन मन सबै भुटेपछि
बनाई झुठा बहाना, पन्छाउन बल गरिन्छ यहाँ ।
०००
पलाउँछन् मायाका आँकुरा, उदाउँछन् बिहान जतिजति
बहलाउँछन् भावनाका टाकुरा, निरन्तर मलाई कतिकति
चस्किन्छु, छटपटिन्छु बहकाउने विचारसँग जब
सम्झाउँछन् मनका माकुरा, ‘म’ नै घाउ तिम्रो ‘म’ नै ओखती !
–काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
