काठमाडौं - चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।
आईसोलेसनमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो ।
उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएको थिए । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । रासस