काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘अनुवाद सन्दर्भ ग्रन्थ’ पुस्तक प्रकाशित भएको छ । साहित्य (अनुवाद) विभागको संयोजन तथा विभागकी प्रमुख प्राज्ञ प्राडा. उषा ठाकुर र प्राडा. गोविन्दराज भट्टराईद्वारा सम्पादित ‘अनुवाद सन्दर्भ ग्रन्थ’ प्रकाशित भएको हो ।
पुस्तकमा ३२ जना अनुवादविज्ञहरूका महत्त्वपूर्ण लेखहरू समेटिएका छन् । उक्त ग्रन्थमा चार ओटा कार्यपत्रसमेत समाविष्ट छन् । अनुवादविज्ञहरूका गहन, मनन र चिन्तनद्वारा लेखिएका अनुसन्धानात्मक लेखहरूले अनुवाद क्षेत्रलाई महत्त्वपूर्ण दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।
७२० पृष्ठको ‘अनुवाद सन्दर्भ ग्रन्थ’को मूल्य ८१० रुपैयाँ रहेको छ । उक्त ग्रन्थ प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ ।