केही वर्षअघि मधुमिता पाण्डेले भारतको सबैभन्दा ठूलो तिहाड जेलमा पुगेर १ सय जना बलात्कारीलाई भेटेकी थिइन् । सन् २०१७ मा ‘वासिङ्टन पोस्ट’मा पाण्डेको अनुभव छापिएको थियो । उनले भेटेका अधिकांश बलात्कारी अशिक्षित थिए । पाण्डेले भनेकी छिन्, ‘औंलामा गन्न सकिनेले मात्र माध्यमिक शिक्षा पूरा गरेका थिए । तिनीहरु जुन परिवेशमा हुर्किए, त्यहाँको सोचाइ र हुर्काइका कारण उनीहरु त्यस्ता घटनामा सामेल भएको पाएँ ।’
- यहाँ एक जना मात्रै होइन, धेरै बलात्कारी होनन् । बलात्कृत नारीलाई इन्साफ दिलाउन नसक्ने न्यायाधीश हुन् बलात्कारी । अपराधीलाई पक्राउ गर्न नसक्ने प्रहरी हुन् बलात्कारी । नातावादको आडमा बचाउन खोज्ने हर नातेदार हुन् बलात्कारी ।
कतिपयलाई बलात्कार नै पुरुष हुनुको अहम् शक्ति हो भन्ने लागेको रहेछ । पाण्डेको अनुभवका आधार बलात्कारका कारणमा अशिक्षा र लैंगिक असमानता नै पहिलो स्थानमा छन् ।
पाण्डेको अनुभवले भन्छ– बलात्कारको पहिलो कारण अशिक्षा हो । भारतमा आज पनि बलात्कारको ग्राफ उकालोमा नै छ । केही दिनदेखि सामाजिक सञ्जालमा ‘मै हो बलात्कारी’ भन्ने फेसबुक पेज देखापर्यो । त्यो फेसबुक त्यसबेला बनेको थियो । जुन बेला बलात्कारीविरुद्ध करिब २५ को संख्याले माइतीघर मण्डलामा फरक किसिमले आन्दोलन चलाएका थिए ।
प्रदर्शनकारीका हातमा थिए प्लेकार्ड, जसमा लेखिएका थिए– ‘अझै कति सहने’, ‘नो मिन्स नो’, ‘इट वाज नट हर ड्रेस, इट वाज योर इभिल माइन्ड’ । उनीहरुले राज्यप्रति इंगित गर्दै ‘बलात्कारी होस् तँ’ गीतमा नृत्यात्मक शैलीमा प्रदर्शन गरेका थिए । यो आन्दोलनको बदलाको भावमा उक्त पेज खोलिएको अनुमान सोझै देखिन्थ्यो ।
- छोरीलाई ‘सीता’ जस्ती हुन सिकाउने परिवारले छोरालाई ‘राम’ जस्तो हुन किन नसिकाएको ?
अब बलात्कारका घटना अशिक्षाले मात्र घट्ने देखिएको छैन । शिक्षित वर्गबाट पनि बदलाको भावमा बलात्कार हुने गरेको छ । हामीले पढेको शिक्षामा पनि कहीँ कतै कमीकमजोरी छ भन्ने कुरा यो घटनाले देखाउँछ । पछिल्लो समयमा बुबाबाट छोरी, दाजुबाट बहिनी, शिक्षकबाट विद्यार्थी, सहकर्मीबाटै सहकर्मी बलात्कृत हुने गरेका छन् । यस्ता घटनाले नेपाली समाजमाथि नैतिकताको प्रश्न चिह्न खडा गरिदिएको छ ।
विश्वमा कडा कानुन भएका देशमा पनि बलात्कारका घटना हुन्छन् । बलात्कार रोक्न कडा कानुन नै समस्या समाधानको जड होइन रहेछ । समाधानको जड नागरिकको नैतिकतामा जोडिएको हुन्छ । आखिर कानुन समाजमा हुने अन्याय विरुद्धको सारथी न हो । नागरिकमा नैतिक धरातलमा उभिन नसकेसम्म कुनै पनि कानुनले समस्याको जड पूर्ण रुपले हल गर्न सक्दैन ।
केही समयअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा देखिएको बलात्कारका घटना हिसाब गर्दा चिन्तित हुनु नपर्ने भनेर वक्तव्य दिए । देशको गरिमामय पदमा बसेर यस्तो वक्तव्य दिइरहँदा उनले बझाङकी १२ वर्षीया सम्झना विक बलात्कृत भएको ख्याल गरेनन् ? त्यस्तै, भक्तपुरमा सार्वजनिक बसमा सामूहिक रुपमा १७ वर्षीया युवती बलात्कृत भएको समाचार पढेपछि मन्त्रीज्यूलाई ग्लानि भयो होला ?
गृहमन्त्रीज्यू, म तपाईंलाई प्रश्न गर्छु, ‘तपाईंलाई यस्ता घटना सार्वजनिक भएपछि आफ्नो अभिव्यक्तिबाट ग्लानि भयो कि भएन ?’
गृहमन्त्रीको अभिव्यक्तिले पीडकलाई उत्साह मिल्छ । तर, पीडितलाई कति दुख्दो हो ? बलात्कारमा पर्ने कुनै बालिका, युवती र महिला राज्यका लागि केही हुन नसक्ला तर उसका परिवारका लागि..?
- हरेक दिन छोरालाई प्रश्न गरौं– आज कसैलाई नराम्रो व्यवहार त गरेनौ ? कसैलाई अप्ठ्यारोमा त पारेनौ ?
नेपालमा हरेक दिन बलात्कारका घटना भएको सुनिन्छ । अखबारको पानादेखि अनलाइन पोर्टलमा देखिन्छन्– ... 'वर्षीया बालिका बलात्कृत'
गृहमन्त्रीको अभिव्यक्तिपछि यहाँ कुनै पनि महिला परिवार, कार्यालय, आफन्त, विद्यालय र देशबाटै सुरक्षित छैनन् भन्ने कुरा पछिल्लो समयमा देखिरहेका घटनाहरूले प्रमाणित गरिदिएको छ । इज्जतका डरले नेपालमा अझै पनि धेरै घटना भित्रभित्रै मिलाइन्छ, जसले पीडकलाई थप उत्साह दिन्छ । जसको ज्वलन्त उदाहरण हो–सम्झना विक बलात्कार घटना ।
महिलामाथि हुने उत्पीडन पितृसत्तात्मक चेतनाबाट ग्रसित मनोविज्ञानबाट प्रेरित भएर गरिएको पाइन्छ । महिला परम्परागत भूमिकामा बाँधिएका छन् । सीता जस्ती आदर्श नारी हुनुपर्छ भन्ने एकोहोरो रटानले महिला भित्रभित्रै गुम्सिन बाध्य छन् । छोरीलाई सीता जस्ती हुन दबाब दिने परिवारले छोरालाई भने राम जस्तो आदर्श पुरुष हुनुपर्छ भनेर किन भन्दैन ? के आदर्शको भारी महिलाको काँधमा हुदाँ मात्र असल समाजमा निर्माण हुन्छ ? अनि महिलामाथि हिंसा गर्न पुरुषले जन्मजातै अधिकार पाएको हो ?
सामान्यतया काम विशेषले घर फर्किन ढिला भएकी छोरीलाई कहाँ गएकी थिइस् ? भन्दै प्रश्न उठाउने परिवारले बारम्बार बाहिर रात बिताएर आउने छोरालाई प्रश्न गर्छ कि गर्दैन ? जरुरत ठान्छ कि ठान्दैन ? दाग लाग्ने भनेको त छोरीलाई हो भन्ने मात्र सोचिन्छ । छोरालाई त दाग पनि कहाँ लाग्छ र ? पुरुष हुनुको अभिमान नै दाग नलाग्नुको निचोण हो समाजका लागि ।
जबसम्म छोरालाई प्रश्न उठाउन सक्दैनौं, तबसम्म आज असल मानिने छोरा भोलि बलात्कारी भएर ननिस्केला भन्न सकिँदैन । हामीले तबसम्म प्रश्न गर्दैनौं, जबसम्म आफूलाई पर्दैन । अरूलाई पर्दा प्रश्न उठाउन नसक्ने हामी आफूलाई पर्दा सिंगो ब्रम्हाण्ड मौन भएको देख्दा मुड्की कस्छौं । प्रश्नको सम्बन्ध उत्तरसँग हुन्छ । उत्तर प्राप्त गर्न प्रश्न गर्नुपर्छ । बाबु, काका, आफन्त र समाजका अगाडि हामीलाई असल देखिनुपरेको छ ।
- हामीले आफ्नैं दाजुभाइलाई पनि प्रश्न गरौं– आजसम्म कति जना युवतीलाई गलत तरिकाले हेर्नुभयो ?’ आफ्नी बहिनीलाई अरूले गलत नजरले हेर्दा आउने रिस अर्काकी बहिनीलाई हेर्दा कहाँ हराउछ ?
उत्पीडनका बारेमा म आफैँले पनि आजसम्म आवाज उठाउन सकेकी छैन, किन ? आफैंलाई प्रश्न गर्छु । जवाफविहीन बन्छु । आफैंलाई देखेर लाज लाग्छ । पढेको ज्ञानले आफैँलाई नजानिँदो पाराले जिस्काउँछ । समाजमै बलात्कारी हुर्कन्छन् । यसकारण हरेक पटक हामीले आफ्नैं दाजुभाइलाई पनि प्रश्न गरौं–
आजसम्म कति जना युवतीलाई गलत तरिकाले हेर्नुभयो ?’
आफ्नी बहिनीलाई अरूले गलत नजरले हेर्दा आउने रिस अर्काकी बहिनीलाई हेर्दा कहाँ हराउछ ?
हरेक दिन छोरालाई प्रश्न गरौं–
आज कसैलाई नराम्रो व्यवहार त गरेनौ ? कसैलाई अप्ठ्यारोमा त पारेनौ ?
हामी पुरुषलाई प्रश्न गर्ने आँट गर्न सक्दैनौँ भने महिलामाथिको हिंसा र बलात्कार हट्ने सम्भावना कसरी रहन्छ ? जति सुकै बौद्धिक र चेतनशील मानिएको व्यक्तिले आवेग कन्ट्रोल गर्न नसक्दा त्यसको पीडा महिलाले खेप्नुपरिरहेको छ । शंका गर्नुभन्दा प्रश्न गर्नु कैयौं गुणा असल काम हो । हामी सुधार चाहन्छौँ भने आफ्नै घरबाट गरौं । समाजमा घटित घटनाको भागिदार हामी नै बन्नुपर्छ । अब एकपटक
आफैंतिर औंला तेर्साएर प्रश्न गरौं–
कस्तो पारिवारिक माहोल निर्माण गरिरहेका छौं ?
कस्तो संस्कार दिइरहेका छौं ?
हामी कस्तो समाज निर्माण गरिरहेका छौं ?
घटनापश्चात् न्याय दिन नसक्नु देशको कानुनको कमजोरी हो तर घटना हुन नदिनु तपाईं हाम्रै पनि कमजोरी हो । यहाँ बलात्कार गर्ने एक जना मात्रै बलात्कारी होनन् । बलात्कृत नारीलाई इन्साफ दिलाउन नसक्ने न्यायाधीश हुन् बलात्कारी । अपराधीलाई पक्राउ गर्न नसक्ने प्रहरी हुन् बलात्कारी । नातावादको आडमा बचाउन खोज्ने हर नातेदार हुन् बलात्कारी । बलात्कारीलाई छोराको नजरबाट हेरेर बचाउन खोज्ने हर आमाबाबु हुन् बलात्कारी ।