काठमाडौं– ४९ वर्षीय दीपेन्द्र रञ्जितकारलाई अधिकांशलाई जस्तै दशैं विशेष हुने गर्छ । अरुलेजस्तै दशैं मनाउने त छँदैछ, तर दशैं परिवेशको व्यापारले उनको यो समय खास बनाउने गर्छ ।
उनका बुबाले चिकमुङ्गलमा ४० वर्षअघि सुरु गरेको पसल, जलाई उनले निरन्तरता दिदैं बेलाबखत अनुसारका सरसामानको व्यापार गर्छन् । उनको घरव्यवहार चलाउने स्रोत बनेको यस पसलमा उनी चाडपर्व र मौसम अनुसारले सामानहरु बिक्रीमा राख्छन् । अहिले उनको पसलमा दशैं लागेको छ र विशेषतः अहिले उनी चङ्गा उडाएर रमाउन चहानेका लागि सेवा र व्यपार दुवै गरिरहेका छन् ।
चङ्गासँगे चङ्गा उडाउन आवश्यक पर्ने लट्टाई र धागोको सिजन चलेको रञ्जितकारको पसलमा । त्यस्तै दशैं लगत्तै आउने तिहारका लागि आवश्यक साजसज्जाका सामान पनि राखिसकेका छन् उनले ।
१८ वर्षअघिसम्म दशैंमा सधै आफैं चङ्गा उडाउने उनी अहिले उडाउन पाउदैनन् । कारण यही पसल, अहिले उनी चङ्ग उडाउनेका लागि सामान जुटाउन र बेच्न व्यस्त हुन्छन् ।
उनी यहाँ बसेर आफै हातैले नेपाली कागजका चङ्गा पनि बनाउँछन् । तर अहिले बिक्री भने भारत र चिनबाट आयात भएका चङ्ग बढी बिक्री गर्छन् ।
यसपाली कोभिड माहमारीका कारण उनको व्यवसायमा पनि असर परेको छ । पोहोर परार जस्तो चङ्गा आकाश उडेको पनि देख्दैनन्, उनको पसलमा पहिलेजस्तै चङ्गा, लट्टाई किन्नेको घुइँचो पनि छैन ।
मैतीदेवी निवासी समिर बानियाँ ३० वर्षदेखि हरेक वर्ष रञ्जितकारकै पसलमा दशैंमा चङ्गा, लट्टाई किन्दै आएका छन् । पहिले आफ्नै लागि अहिले छोराको लागि । रञ्जितकार सुनाउँछन्, ‘मेरो बाले सुरु गर्नुभएको पसल जसरी म चलाइरहेको छु । त्यसरी नै चङ्गा किन्नेहरु पनि हजुरबादेखि नातीसम्म यहाँ आएका छन् ।’
आउनुहोस् दीपक रञ्जितकारको चङ्गा पसलमा एकैछिन बसौं ।