डोल्पा– करिब ५० वर्षीय नेयार भोटेको मुखाकृति देख्दैमा थाहा हुन्छ कि उनी ठूलै पीरमा छन् । । डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो गाउँमा बस्दै आएका उनी बिहान बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
‘कोरोनाका कारण यस वर्ष यार्सागुम्बा टिप्न पाइएन, चीनसँगको नाका पनि खुलेन, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल पनि पठाएन । हामीलाई छाक टार्नै समस्या भयो,’ उनी भन्छन् । उनका आठ जनाको परिवार छ । ‘उपल्लो डोल्पालीको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बा टिप्न नपाएपछि पैसा पनि देख्नै मुश्किल छ, किनेरै खान पाए पनि कसरी किन्नु ?’ उनले भने ।
नेयारका अनुसार भोकै बस्न पनि नसकिएकाले तल्लो डोल्पाबाट ल्याइएको बजारीया चामल छत्तिस प्रतिशत ब्याजसमेत जोडेर उधारोमा किनेर खानुपरेको छ । उनी भन्छन्, ‘त्यसमा पनि ३० किलोग्रामको चामललाई छ हजार तिर्नुपर्छ, त्यही चामल तल्लो डोल्पामा १५ सयदेखि दुई हजारसम्म पर्छ । रकम चुक्ता नगरूञ्जेलसम्म ३० प्रतिशतका दरले ब्याज बढ्दै जान्छ ।’
केही गाउँलेले उधारोमा चामल किनेर २० लाखसम्म उधारो तिर्नुपरेको उनले बताए । ‘आफूले पनि तीन जना साहूलाई चामलका लागि मात्रै ३ लाख तिर्नुपर्ने भैसक्यो, अझै पाँच लाखसम्म पुग्ने अनुमान गरेको छु,’ उनी भन्छन् । कोरोनाका कारण यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाउनाका साथै चीन सरकारले पनि ‘रूट परमिट’ नदिएको र सहुलितयको सरकारी कोटाको चामल पनि नपाउँदा उपल्लो डोल्पामा यस्तो खाद्य सङ्कट सिर्जना भएको हो ।
नेयार मात्र होइन, धो गाउँका नाग्मा गुरूङ र तुण्डुप मगरलगायतमा पनि उस्तै खाद्य सङ्कटको चिन्ता छ । राज्यले उपल्लो डोल्पाबासीको पीडा नदेखेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । चामल नभएकाले सात जनाको परिवार कसरी पाल्ने भन्दै तुण्डुप गुनासो गर्छन्, ‘अनाजको नाममा उवा र आलु मात्र हुन्छ, नुन, खुर्सानीदेखि चामल दाल सबै अन्यत्रबाट किनेर खानुपर्छ । साँच्चै उपल्लो डोल्पालीले जीविकोपार्जनमै ठूलो सङ्घर्ष गर्नुपर्छ ।’