काठमाडौं– नेपाली फिल्म ‘महानगर’को प्रदर्शन भारतबाट सुरु हुने भएको छ । कोलकता इन्टरनेशनल फिल्म फेस्टिभल (किफ)मा छनोट हुँदै मोहन राईद्वारा लिखित तथा निर्देशित ‘महानगर’को सो फेस्टिभलमा वल्र्ड प्रिमियर हुने भएको हो ।
कोलकता इन्टरनेशनल फिल्म फेस्टिभल (किफ)को २६ औं संस्करणमा नेट्प्याक अन्तर्गत प्रतिस्पर्धात्मक क्याटोगोरी ‘एसियन सेलेक्ट’मा महानगरलाई छनोट गरेको हो ।
फेस्टिभलको आधिकारिक वेवसाइट अनुसार यस वर्ष यस क्याटोगोरीमा किफले एसियाका सात चलचित्र छनौट हुँदा नेपालको ‘महानगर’ छनौट भएको हो ।
कोलकता फेस्टिभलबारे
भारतको कोलकातामा आयोजना हुने फेस्टिभलको २६ औं संस्करण आउँदो नोभेम्बर ५ देखि १२ सम्म हुनेछ । विश्वका फिल्म फेस्टिभलमध्ये कोलकता फेस्टिभललाई महत्व र प्रतिष्ठाका साथ हेरिन्छ ।
यो फेस्टिभल निर्माताको अन्तर्राष्ट्रिय संघ फियापले वर्गीकरण गरेको २३ वटामध्ये एक ‘कम्पिेटेटिभ स्पेसलाइज्ड् फिचर फिल्म फेस्टिभल’ हो ।
निर्देशक मोहन राई भन्छन्
फेस्टिभलमा फिल्म छनौट भएपछि निर्देशक मोहन राईले खुशी व्यक्त गरेका छन् । उनले यसै बखत विश्वप्रशिद्ध फिल्म निर्देशक सत्यजित रेलाई सम्झिए ।
‘म सत्यजित रायको ठूलो प्रशंसक हुँ । उहाँले कोलकता सहरमा नै आधारित कथालाई लिएर यही नाम गरेको चलचित्र आज भन्दा ५७ वर्ष अघि निर्देशन गर्नुभएको थियो’, उनले भने, ‘यही सहरमा हुन लागेको अन्तर्राष्ट्रिय महोत्वसमा हाम्रो फिल्मको वल्र्ड प्रिमियर हुनुलाई मीठो संयोग मानेको छु ।’
फिल्म ‘महानगर’बारे
महानगर माउन्टेन रिभर फिल्म्सको सहकार्यमा मिडलवे फिल्म्स प्रा.लि.ले निर्माण गरेको हो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा निर्माता नवनिधि दाहाल हुन् ।
फिल्ममा महेश शाक्य ‘कर्मा’ र मेनुका प्रधानको प्रमुख भूमिका रहेको छ । महानगरमा सिमान्तकृत बन्न पुगेका मानिसको कथा महानगरमा छ । अन्जान दुई पत्रा एक घटनासँग जोडिँदा भेटभएपछि उनीहरुबीच त्यो रात र दिनमा भएका जीवन भोगाई साटासाटका अनुभूतिलाई फिल्मले कथावस्तु बनाएको छ । अनयासै भेट भएका दुई पात्रबीच निर्माण भएको सम्बन्ध र त्यस सम्बन्धले पारेको प्रभाव फिल्म रहेको निर्देशक राईले बताए ।
नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहेको फिल्मको सम्पादन परिक्षित झाले गरेका हुन् । त्यस्तै ‘महानगर’मा साउण्ड डिजाइनर किशोर आचार्य हुन् भने संगम पन्थीको ब्याकग्राउण्ड स्कोर रहेको छ । त्यस्तै फिल्मको राजेन्द्र मोक्तान कलरिस्ट, अरुण रेग्मी प्रोडक्सन म्यानेजर हुन् ।