काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको सङ्ख्या ४० हजार ७७८ रहेको जानकारी दिए ।
जम्मा संक्रमित १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गरिएकामा हालसम्म १३ लाख ९ सय १८ नमुना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको संख्या ४ हजार ४ सय ७० छ ।
सङ्क्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेसन र २६ हजार ९२७ होम आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा १ हजार ५ सय ३४ , २ मा ७१३, बाग्मतीमा ७ हजार ८५५, गण्डकीमा ९९०, लुम्बिनीमा १ हजार ८२०, कर्णालीमा ४५३ र सुदूरपश्चिममा ५३६ छन् । त्यस्तै होम आइसोलेसनमा प्रदेश १ मा ४ हजार २३२ , २ मा २ ७३५ , बाग्मतीमा १७ हजार २२५ , गण्डकीमा ९२५ , लुम्बिनीमा ४२०, कर्णालीमा ८०७ र सुदूरपश्चिममा ५८३ छन् ।
देशभर २८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३०, २ मा १३, बाग्मतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१ , कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी, ६३ सङक्रमित भेन्टिलेटरमा छन् । आजसम्म बाह्र जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ ।
५ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके, सुर्खेत र रुपन्देही छन् । त्यस्तै हाल संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका संक्रमितमध्ये २ हजार ३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका दुई हजार ८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।
थप १८ को मृत्यु
पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।