काठमाडौं– सरकारले कोरोना सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड अस्पतालका रूपमा रूपान्तरण भएका सबै सरकारी तथा सार्वजनिक अस्पतालमा प्रत्येक प्रदेशमा कम्तीमा २०० र काठमाडौंँ उपत्यकामा दुई हजारको सङ्ख्यामा आवश्यक सुविधा र उपकरणसहितका हाइडिपेन्डेन्सी युनिट (एचडियू) का रूपमा १५ दिनभित्र मन्त्रालयले स्तरोन्नति गर्ने निर्णय गरिएको बताए ।
सरकारी र सार्वजनिक कोभिड अस्पतालमा उपलब्ध आइसियू र एचडियू नपुग भएमा निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पतालमा पनि तिनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने व्यवस्था गरिएको छ ।