साधारण शब्दमा सत्याग्रह ‘सत्य’ र ‘आग्रह’को मेल हो । यसको अर्थ सत्यमा दृढ रहेर अन्याय, अत्याचार तथा शोषणको विरोध गर्नु भन्ने हुन्छ । गान्धीले सत्याग्रहको प्रथम प्रयोग दक्षिण अफ्रिकामा गरेका थिए, जसलाई उनले निष्क्रिय प्रतिरोधको नाम दिएका थिए भने सन् १९१७ मा चम्पारण सत्याग्रह नामक पहिलो सत्याग्रह गरेका थिए, जुन इस्ट–इन्डिया ब्रिटिस उपनिवेशको विद्रोहको एक महत्त्वपूर्ण परिघटना थियो ।
‘हिन्दु स्वराज’ नामक पुस्तकमा गान्धीले यसलाई ‘आत्मको बल’ भनी परिभाषित गरेका छन् । त्यस्तै एनके बोसले यसलाई अहिंस्रक तरिकाद्वारा युद्ध सञ्चालन गर्ने तरिका भनेर प्रस्ट्याएका छन् । राजनीतिक शब्दावलीमा आफ्नो सत्यपूर्ण मागहरू शान्तिपूर्ण तरिकाद्वारा सम्झाउने र मनाउने शान्तिपूर्ण वैचारिक अस्त्र प्रयोगका रूपमा बुझ्न सकिन्छ ।
- विरोधीहरूका निमित्त उनी पागल हुन्, कसिङ्गर हुन्, रावण हुन् तर सच्चा देशभक्त नागरिकका निमित्त, पागल उपमा दिनेहरूका लागि अनैतिकताको शल्यक्रिया गरेर नैतिक शिक्षाको क्याप्सुल घोटेर खुवाउने असली शल्यचिकित्सक हुन् ।
सत्याग्रहमा पाशविक या शारीरिक बलको प्रयोग नभई आत्मबलको प्रयोग गरिन्छ । आत्मबल शारीरिक बलभन्दा हजारौं गुणा बढी शक्तिशाली हुन्छ । असल समाजमा सत्याग्रह आत्मबलरूपी शस्त्रको प्रयोग गरेर विरोधीको हृदय परिवर्तन गर्ने महत्त्वपूर्ण हतियार हो । आफू स्वयं कष्ट उठाएर अरूलाई दुःख कष्ट नदिई निःस्वार्थ भावनाले अन्यायको विरोध र प्राणी जगत्को भलाइ गर्नमा समर्पित रहनु सत्याग्रहीको अनिवार्य नियम हो ।
सत्याग्रहीहरू दुःखपश्चात् सुखको जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्दछन् । जो आत्मपीडन सहन तैयार छ, उसले नै अरूको भलाइका बारेमा सोच्न सक्छ, अन्ततः सुखको सन्तुष्टि प्राप्त गर्दछ । अरूको भलाइ सोच्नेको आत्मा पवित्र हुन्छ भन्ने कुरामा उनीहरू विश्वास गर्दछन् । सत्याग्रह एक यस्तो दार्शनिक सामाजिक विवेक हो, जसमा सत्याग्रहको सन्ध्याकालमा एक यस्तो समयको आगमन हुन्छ, जहाँ विरोधी व्यक्ति वा सत्ता आफूले गलत अनुचित कार्य गरेको कुरा अनुभव गर्छ र अन्याय अत्याचारको बाटो छाडेर न्यायको बाटोतर्फ अग्रसर हुन बाध्य हुन्छ । किनकि अहिंसा परमाणु बमभन्दा पनि शक्तिशाली क्षेप्यास्त्र हो । कुनै पनि सत्याग्रह सफल हुनका लागि सत्याग्रहीमा धोखा, बेइमानी, छलकपट आदि कुराहरू शून्य हुनुपर्छ भने सत्याग्रहीका मागहरू घामजस्तै छर्लङ्ग हुनु उत्तिकै आवश्यक तत्त्व हुन्छ । यसबाट लोकको समर्थन र अन्ततः सफलता प्राप्त गर्न सजिलो हुन्छ ।
- समाजवादको कोरा नारा लगाई नोकरशाही दलाल पुँजीवादमा रमाएर कमिसनको कालोधन पेटभरि भरेर डकार्ने सरकार र तिनका प्रतिनिधिहरू सम्झौताको बहानामा सोझा र त्यागी डा. गोविन्द केसी तथा आमजनतालाई झुक्याउने बानीमा परेका छन् ।
सत्याग्रहका विभिन्न तरिकाहरूमध्ये बातचितद्वारा सम्झौता, हडताल, असहयोग, उपवास, सविनय अवज्ञा, सामाजिक बहिष्कार आदि तरिका हुन् । यीमध्ये उपवास अधिक शक्तिशाली र फलदायी सस्त्र हो । यसको उद्देश्य आत्मशुद्धि, असत्य तथा अन्यायविरुद्धको प्रतिकार हो । यो सबैभन्दा कठिनतम साधना पनि हो, जसले सत्तालाई कमजोर बनाउनुका साथै जनताको आत्मशक्तिमा वृद्धि गरी विरोधी पक्षलाई सत्मार्गको बाटोमा लैजान प्रेरित गर्दछ । यसमा विरोधीलाई कष्ट र बल प्रयोग गरेर होइन कि स्वयं कष्ट सहेर, निराहार बसेर, आत्मपीडन गराएर सत्यको आन्दोलन गरिन्छ । तसर्थ शारीरिक बलभन्दा पनि जो आत्मबलप्रति दृढ भरोसा राख्छ, उसले यसको प्रयोग गर्न सक्दछ । । त्यसैले उपवास आत्मशुिद्धका लागि केवल अन्नत्याग मात्र नभईकन सम्पूर्ण मानसिक विकारबाट मुक्त गराउने महत्त्वपूर्ण पक्ष हो ।
नेपालको परिप्रेक्ष्यमा डा. गोविन्द केसी सत्याग्रहीहरूका दृष्टान्तमा एक अतुलनीय नाम हुन् । एक प्रखर समाजसेवी । स्वास्थ्यलगायत थुप्रै बहुआयामिक क्षेत्रमा रहेका विकृत्ति विसंगतिविरुद्धको उपवासका माध्यमबाट आवाज उठाएर खबरदारी गर्ने एक सच्चा निःस्वार्थ सत्याग्रही हुन् । डाक्टर गोविन्द केसीको नैतिक आन्दोलन प्रतिशोधभन्दा पनि प्रतिरोधको द्योतक हो । उनी सच्चा सत्याग्रही किन पनि हुन् भने हरेक पटकको सत्याग्रहमा एक सत्याग्रहीले पालना गर्नुपर्ने अत्यावश्यक नियमहरू उनले पालन गरेका छन् ।
सबै प्रकारको कष्ट र अपमानका लागि तयार, विरोधीप्रति अहिंसाको भाव, पवित्र जीवन, शान्तिपूर्वक वा अहिंसात्मक आन्दोलन, आत्म बलिदानका निम्ति तयार, विनयी, दयावान् वा निर्भयी, कुनै प्रकारको अन्याय अत्याचारको विरुद्ध नझुक्ने नीति, सत्ता–नेतृत्वका लागि अनिच्छुक, सत्य सम्झौतावादी, सार्वजनिक उद्देश्यका लागि उपवास, अनुशासनप्रिय र आत्मअवलोकनको गुण सत्याग्रहीका महत्त्वपूर्ण नियमहरू हुन् ।
- महिनौंसम्म भोको बसेर शान्ति र अहिंसात्मक तवरबाट आत्म बलिदानको निमित्त तयार हुने उनी नैतिक शिक्षाको खडेरी परेको आजको समाजमा नैतिकताको धरोहर हुन् ।
डाक्टर गोविन्द केसीका हरेक पटकका अनशनका मागहरू अझसम्म पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन् । उनी पेसाका हिसाबले हाडजोर्नीका वरिष्ठ शल्यचिकित्सक (अर्थोपेडिक सर्जन) हुन् ।
चिकित्सा शिक्षामा प्रचलित व्यावसायीकरण रोक्न र आम जनतालाई सस्तो र गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न उनी उपवास बसिरहन्छन् । रामेछापमा जन्मिएका डाक्टर गोविन्द केसीको न कुनै अशेष सम्पत्ति नै छ न कुनै भव्यमहल नै । न त उनी कुनै नैतिक आचरणमा विचलित भएर चोक्खिनकै निमित्त यो सब गरिरहेका छन् । डा गोविन्द केसी प्राणी जगत्को उपकार र भलाइका निमित्त प्राकृतिक विपत्ति आइपर्दा कहिले पाकिस्तान, कहिले बर्मा, म्यानमारमा, हैटी, फिलिपिन्स लगायत कहिले देशको दूरदराजमा आफ्नै खर्चमा सेवा गर्न तल्लीन छन् अथवा भनौँ उनले पवित्र जीवन व्यतित गरिरहेका छन् । चिकित्सा क्षेत्रका धमिरा, धन्धुकारीहरूले विभिन्न आरोप र कुर्सीको ललिपप देखाउँदा समेत त्यसलाई कुनै पर्वाह नदिई आफ्नो अग्निपथमा लम्किरहेको त्यो पाको शरीर स्वभावैले सच्चा, न्यायप्रेमी सत्याग्रही हुन् भन्ने उदाहरण उनले विश्वसामु प्रस्तुत गरेका छन् ।
महिनौंसम्म भोको बसेर शान्ति र अहिंसात्मक तवरबाट आत्म बलिदानको निमित्त तयार हुने उनी नैतिक शिक्षाको खडेरी परेको आजको समाजमा नैतिकताको धरोहर हुन् । आफ्ना मागहरू पूरा गर्नका निमित्त न उनले कुनै आन्दोलनकारीहरूलाई आह्वान गरेका छन्, बरु आफंै पीडा सहन गरी निर्दयी र लाचारी सरकारको अगाडि सत्यको पहाड भई ठिंग उभिदिएका छन् । त्यसैले सिधासिधा भन्न सकिन्छ कि उनी भीडमा भन्दा पनि आत्मामा विश्वास गरेर आफ्नो नैतिक लडाइँ लडिरहेका छन् । हरेक पटकको अनशनमा आफू अतिवादी नभएर सत्य सम्झौतावादी हुँ भन्ने कुरा प्रमाणित गरिदिएका छन् । बरु हरेक समयका सरकारले डाक्टर गोविन्द केसीको सम्झौतालाई फाइदा उठाएर जुस खुवाएर अनसन तोडाउने र सम्झौता पालना नगरेर नांगो नाच देखाएका छन् ।
समाजवादको कोरा नारा लगाई नोकरशाही दलाल पुँजीवादमा रमाएर कमिसनको कालोधन पेटभरि भरेर डकार्ने सरकार र तिनका प्रतिनिधिहरू सम्झौताको बहानामा सोझा र त्यागी डा. गोविन्द केसी तथा आमजनतालाई झुक्याउने बानीमा परेका छन् भने सम्झौता पूरा गर, नैतिकवान् बन, भ्रष्ट नहोऊ भनेर पटक पटक अनशन बस्न डाक्टर गोविन्द केसीलाई बाध्य बनाइएको छ ।
- चिकित्सा शिक्षामा प्रचलित व्यावसायीकरण रोक्न र आम जनतालाई सस्तो र गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न उनी उपवास बसिरहन्छन् ।
डाक्टर गोविन्द केसी निडर छन्, निर्भय छन् अहिंसात्मक लडाइँमा विश्वास गर्छन् र आफू पीडा सहेर विरोधीलाई सत्यको बाटोमा सामेल हुन बाध्य पारिदिन्छन् त्यसैले उनी सच्चा सत्याग्रही हुन् भन्नेमा विवेचनात्मक उत्तर दिइराख्नुपर्छ जस्तो लाग्दैन । विरोधीहरूका निमित्त उनी पागल हुन्, कसिङ्गर हुन्, रावण हुन् तर सच्चा देशभक्त नागरिकका निमित्त, पागल उपमा दिनेहरूका लागि अनैतिकताको शल्यक्रिया गरेर नैतिक शिक्षाको क्याप्सुल घोटेर खुवाउने असली शल्यचिकित्सक हुन् । रावण र क्रुद्ध देख्नेहरूका निमित्त, रामराज्यको कल्पना गरिरहेकाहरूका निमित्त उनी कलियुगका ती आदर्श–आम हुन्, जसले मानिस भएर नै भगवान्का किंवदन्तीहरूलाई जितेका छन् ।
मुलुक र सर्वजनहितायका निमित्त आत्मशक्तिको ऊर्जाले लडिरहेका निडर डाक्टरको यो पटकको सम्झौतामा पनि सरकार गैरजिम्मेवारीपूर्ण र अनुत्तरदायी चरित्र देखाउँदा देखाउँदै भर्खर दबावमा परेको महसुस गर्दै छ । त्यसैले उपवास बसेको समयमा मात्रै प्रेस विज्ञप्ति निकाली चरणबद्ध आन्दोलनको घोषणा गर्ने, सेन्टिमेन्ट बटुल्ने र नुनको सोझो चाहिँ गरिरहने प्रथालाई अन्त गरी हरेक कालखण्डमा सम्झौता कार्यान्वयन गर्न आवाज उठाइरहनु नै अबको अन्तिम निष्कर्ष र समयप्रतिको दायित्व हुनेछ भन्ने लाग्दछ । होइन भने सत्याग्रहको समयमा सेतोकोट लगाई ‘आई एम् विथ डाक्टर गोविन्द केसी’ भनेर साथ दिने चिकित्सकहरू र लेखक–कवि तथा अन्य सामाजिक क्षेत्रबाट प्रत्यक्ष सहभागिता जनाएर प्रतिरोधमा जुट्ने सबै हामीहरू एकदिन यो र यस्तै सरकारहरूका बठ्याइँपूर्ण योजनाअनुसार डा.केसीसँगै यो सपना पनि सकिने प्रतीक्षामा लागेर यो देशका जनताका संवेदनामाथि पिठबाट चक्कु हानिरहने छन् र आउने पुस्ताले यस घाउका निम्ति हामी आफैँलाई दोषी ठान्नेछन् ।