कवि सोम निरौलाको नयाँ कवितासङ्ग्रह ‘सिसिफस’ विमोचन गरिएको छ । प्रविधिको प्रयोग गरी उनको नवप्रकाशित कृति विमोचन गरिएको हो । इलाम नगरपालिका –५ स्थित अमर माविका प्रधानाध्यापक निरौला पछिल्लो समय नेपाली साहित्यमा समेत क्रियाशील छने । उनको कवितासङ्ग्रह कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द–चौतारी साहित्यिक संस्थाको सहकार्यमा सोमबार विमोचन गरिएको हो ।
सङ्ग्रहमा ४९ छन्द कविता समेटिएका छन् । सामाजिक सञ्जालको प्रयोग गरी आयोजित विमोचन कार्यक्रममा मनोज भण्डारी, नीरा रानाभाट, भवानी खतिवडा र पुष्कल किरणले ‘सिसिफस’ भित्रका कविता वाचन गरे ।
सामाजिक सञ्जालमा छन्द चौतारी नामक समूह सञ्चालन गरी नेपाली छन्द कविताको जागरणमा सक्रिय निरौलाको यो पहिलो कृति हो । उनी गजल तथा अन्य विधामा समेत कलम चलाउँछन् ।