काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियूमा भर्ना भइरहेका छन् । हरेक दिन भेन्टिलेटर र आइसियूका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, ‘शय्या खाली हुनुपहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियूमा सार्ने गरिएको छ ।’
अस्पतालको आइसोलेसन र आइसियू अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा. राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइसियूमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए । उनले भने, ‘लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौं ।’
उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पताललाई व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा. राजभण्डारीले बताए । उनका अनुसार अस्पतालले केही शय्या बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउन सक्ने अवस्था छैन । अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अस्पतालमा केही समयपहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शय्या, चार आइसियू र एक भेन्टिलेटर थप गर्न लागिएको छ । उनले भने, ‘हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।’
एकातिर अस्पतालका सबै शय्यामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा. राजभण्डारीले बताए । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उनले बताए । अस्पतालमा अहिले तालिमप्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एक जना नै तोकिएको मान्छे राख्नुपर्ने उनले बताए । एउटै व्यक्तिले नियमित काम गर्न नसक्दा फरक सिफ्टका लागि फरक फरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्को कर्मचारी खटाउनुपर्छ ।
नेपालमा कोभिड–१९ को सङक्रमण शुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकाले त कहिले कार्यालयमा जानका लागि भन्दै परीक्षण गर्न आउने गरेका छन् । अस्पतालले ‘क्राइटिएरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ । कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आइएको उनले जानकारी दिए ।
सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले सङ्क्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरुपमा विपन्न व्यक्तिले विशेष गरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यहीँ आउने चाहेको अस्पतालले जनाएको छ ।