काठमाडौं– दशैं नजिकिदैं गर्दा आकाशमा चङ्गाहरु फुरफुर उडिरहेका देख्छौं । आकाशमा चङ्गा रमाउन थालेपछि चङ्गासँगै केटाकेकटीहरु रमाउँछन् । उनीहरुले दशैं आएको संकेत गर्छन् । हुन त चङ्गामा रमाउनेहरु केटाकेटी मात्र होइनन् युवाहरु र बालापन सम्झँदै वयस्कहरु पनि हुन्छन् ।
दशैंकै कारण मात्र नभई चङ्गामैत्री वातावरण र हावाका चालका कारण आकाशमा चङ्गमा उडेका हुन् । तर दशैंसँगै हिन्दुहरुको दिमागमा आउने उत्सवमय तरङ्गका कारण चङ्गा दशैंको विम्व बनेको छ ।
कुनैबेला काठमाडौंमा धानका फाँटबीचमा लट्टाई घुमिरहेका हुन्थे, धान फाँटमाथि नीलो आकशमुनि चङ्गा रमाउने गर्थे । त्यससँगै चङ्गा उडाउनेको मन र उडेको चङ्गा देखेर रमाउनेका मनहरु फुरुङ्ग हुँदो हो ।
अहिले अव्यवस्थित सहरीकरणसँगै काठमाडौमा खुला स्थान भेटिन मुस्किल छ । धानका फाँटमा घर रोपिएका छन् । घरको छत छतमा चङ्गा उडाउनुको खास विकल्प छैन । तर त्यही छत पनि सबैको लागि अझ भनौं धेरैको पहुँचमा छैन ।
अझ थुप्रै मानिसहरुको घरको छानो समेत गतिलो छैन, छत परको कुरा भयो । टेकु बागमती नदीकिनारमा अवस्थित सुकुम्बासी बस्ती बनसिघाटका केटाकेटी आफ्नो घरको छानोबाट घाम र पानी नछिरेकैमा रमाउँछन् । तर उनीहरु चङ्गाको पहुँचबाट भने पर छैनन् । बागमती किनारका बचेका बगर र ढिस्कोहरु उनीहरुको लट्टाई घमाउने र चङ्गा उडाउने ठाउँ हुन् ।
विशेषतः काठमाडौं उपत्यकामा चङ्गा उडाउने प्रचलन बढी छ । त्यसमा पनि यहाँका आदिवासी नेवार समुदाय चङ्गामा खुबै रमाउँछन् । नेवारी भाषामा चङ्गालाई ‘भुतुमाली’ भन्ने गरिन्छ ।
वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चङ्गा उडाउने चलन छ । लोकपरम्परा अनुसार सहकालका देवता इन्द्रलाई अब पानी नपार्न आग्रहको सन्देश पठाउन चङ्गा उडाउने मान्यता छ ।
दसैंको नवौ दिन अर्थात् नवमीमा कृषिकर्ममा प्रयोग गरिने हँसियालगायत ज्यावल, हातहतियारहरूको पूजा गरिसकेपछि त्यही हतियार लिएर धान काटिन्छ । असोज, कत्तिक धान पाक्ने मौसम हो । पाकेको धान काट्ने र सुकाउने समयमा पानी नपार्न उपत्यकावासीले सहकालका देवता मान्ने इन्द्रलाई सन्देश पठाउन चङ्गा उडाउने विश्वास छ । त्यो सन्देश सुनेर इन्द्रले वर्षा नगर्ने लोक मानन्यता छ ।