कराँची– पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम विस्फोटका कारण अरु १५ जना घाइते भएका छन् ।
इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन् । विस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन । मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम विस्फोट भएको बताएका छन् ।
प्रत्यक्षदर्शीले विस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन् । अघिल्लो दिन सिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम बिस्फोटन हुँदा केही मानिस घाइते भएका थिए ।