दाङ – दाङ बगंलाचुलीका वीरबहादुर वीक (२२ वर्ष) कामको सिलसिलामा घर बाहिर बस्थे । दशैं मनाउन उनी हालसालै मात्र घर आएका थिए । घर आएपछि उनले आफ्नी श्रीमती र २ वर्षीय छोरीलाई ससुराली पठाईदिए ।
श्रीमती र छोरी ससुराली पठाएपछि शुक्रबार घरमा वीरबहादुरका बुवा, आमा गरेर ३ जना मात्र थिए । बेलुकीदेखी नै तिनैजना बसेर मदिरा सेवन गर्न थाले । त्यसैक्रममा उनीहरुवीच आपसमा बिवाद शुरु भयो । बिवादको क्रममा वीरबहादुरले आफ्नी आमालाई बोक्सी आरोप समेत लगाए ।
यसरी बिवाद चर्किदै गएपछि घरको माथिल्लो तल्लाबाट वीरबहादुरले आमाबाबु दुबैजनालाई तल धकेलिदिए । तल झरेका बालाराम विक (४५ वर्ष) को टाउको भर्याङमा ठोक्कीयो र उनको घटनास्थलमा नै मृत्यू भयो । आमालाई भने सामान्य चोटपटक लाग्यो ।
त्यसलगत्तै उनी बाहिर निस्कीएर छिमेकीहरुसँग गुहार मागिन् । त्यतिबेला रातीको करिव ११ः४५ बजेको थियो । घटनाबारे प्रहरीले १२ः३० बजे जानकारी पायो । ‘हामीले तत्काल घटनास्थल पुगेर स्थानियको सहयोगमा छोरालाई पक्राउ गरीसक्यौ’, प्रहरी निरिक्षक महेन्द्र सेनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’