नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, शीर्ष नेता र पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन्। सभापति देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार केन्द्रीय कार्यसमितिको बैठकभन्दा अगाडि शीर्ष नेताहरूको बैठक आह्वान गरिएको हो।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक २१ गतेका लागि तय गरिएको छ। स्वकीय सचिव देउवाले पदाधिकारी, पूर्वपदाधिकारीसहितका शीर्ष नेताको बैठक आगामी सोमबारका लागि तय भएको बताए।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पार्टीमा उठेका विभिन्न विषयमाथि छलफल गर्न शीर्ष नेताको बैठक आह्वान गरिएको जानकारी दिए। यसअघि असोज १७ गते संस्थापनइतरका नेताहरूले उठाएका मागमाथि छलफल गर्न बैठक बसेको थियो।
त्यसलगतै असोज १९ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठक तय गरिएको थियो। तर, पार्टीका केही केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएपछि बैठक स्थगित गरिएको थियो।
आगामी बैठकमा कांग्रेसका १४औं महाधिवेशनको कार्यतालिका तथा पछिल्लो राजनीतिक कार्यक्रममाथि छलफल हुने छ। यसअघि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए।
तर, फागुनका लागि पारित भएको महाधिवेशनको कार्यतालिका कोरोना प्रकोपका कारण प्रभावित भएको थियो। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मतभेदका कारण पार्टीभित्र विवाद बढेपछि फागुनका लागि महाधिवेशनको मिति तय गरिएको थियो।
सभापति देउवाले विभाग गठनसम्बन्धी निर्णय गरेपछि रुष्ट रहेको पौडेल समूहलाई सहमतिमा ल्याउने र महाधिवेशनको कार्यतालिका निर्माण गर्नेगरी शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन्।