सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीचको छलफल शुरु भएको छ।
ओलीसँगको छलफलका लागि अध्यक्ष प्रचण्ड शनिबार दिउँसो करिव २ बजे बालुवाटार गएका हुन्। ओलीलाई भेट्नुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अहिले पनि छलफल जारी छ। गत कात्तिक ४ पछि ओली र प्रचण्डबीच छलफल हुन सकेको थिएन।
प्रचण्डलाई मनाउनका लागि ओलीले आफू निकट नेताहरूलाई प्रचण्ड निवासमा पटक–पटक पठाएका थिए। ओली निकट नेताहरू खुमलटार पुगे पनि प्रचण्डले छलफलमा बस्न मानेका थिएनन्।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली ओलीको सन्देश लिएर खुमलटार पुगेपछि संवादको वातावरण तयार भएको हो। ज्ञवालीभन्दा अगाडि अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायत पनि प्रचण्ड निवास पुगेका थिए।
पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव तयार गर्न लगाउने ओली पक्षको व्यवहारपछि ओलीसँग प्रचण्ड रुष्ट छन्।