सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार छलफल भएको छ।
११ दिनदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। प्रचण्डले ओलीलाई तत्काल पार्टी सचिवालय बैठक आह्वान गर्न प्रस्ताव गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रममाथि सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान व्यक्त गरेका छन्।
अध्यक्ष प्रचण्डले भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको ओलीको भेट, मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव तयार गर्न लगाउने विषयमा सचिवालय बैठकमा छलफल गर्नुपर्ने बताएका छन्।
तर, प्रचण्डको प्रस्तावमा ओलीले सहमति दिएनन्। बालुवाटार श्रोतका अनुसार ओलीले ‘अहिले बैठक आवश्यक छैन’ भने। ‘प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच छलफल गर्नुपर्नेमा जोड दिनुभयो,’ श्रोतले भन्यो, ‘तर, प्रचण्डले जसरी पनि बैठक बस्नपर्ने अडान लिएपछि ओलीले महासचिवसँग छलफल गरौंला भन्नुभयो।’
ओलीसँगको छलफलका लागि अध्यक्ष प्रचण्ड शनिबार दिउँसो करिव २ बजे बालुवाटार गएका हुन्। ओलीलाई भेट्नुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।
गत कात्तिक ४ पछि ओली र प्रचण्डबीच छलफल हुन सकेको थिएन। प्रचण्डलाई मनाउनका लागि ओलीले आफू निकट नेताहरूलाई प्रचण्ड निवासमा पटक–पटक पठाएका थिए। ओली निकट नेताहरू खुमलटार पुगे पनि प्रचण्डले छलफलमा बस्न मानेका थिएनन्।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली ओलीको सन्देश लिएर खुमलटार पुगेपछि संवादको वातावरण तयार भएको हो। ज्ञवालीभन्दा अगाडि अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायत पनि प्रचण्ड निवास पुगेका थिए।