कर्णाली प्रदेशको मन्त्रिपरिषद पुनर्गठन सरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नयाँ मन्त्रीको शपथग्रहण रोकिएको हो।
प्रधानमन्त्री एवं नेकपाका एक अध्यक्ष केपी शर्मा ओली पक्षका दुवै मन्त्रीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूलाई मन्त्रिपरिषदमा लागे तयारी मुख्यमन्त्री शाहीले गरेका छन्।
यसको जानकारी ओली पक्षका सामाजिक विकास मन्त्री दल रावलले दिएका हुन्। साथै ओलीनिकट उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढा पनि हट्ने छन्।
प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन केहीदिन होल्ड गर्न निर्देशन दिएपछि मुख्यमन्त्री शाहीले शपथग्रहण सारेका छन्। साथै ओलीनिकट मन्त्रीहरूले राजीनामा नदिने, बरु बर्खास्त गर्न चुनौती दिएपछि आज हुने भनिएको मन्त्रिपरिषद पुनर्गठन रोकिएको हो।
यसअघि ओली पक्षबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका खडकबहादुर खत्रीविरुद्ध बैंकिङ कसुरको मुद्दा परेपछि रिक्त रहेको पदमा पनि मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गर्दैछन्।
ओली पक्षले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो। मुख्यमन्त्री शाहीले ओली पक्षको अविश्वास प्रस्तावपछि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाइसकेका छन्।
नयाँ मन्त्रीमा करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीको नाम चर्चामा छ। ओली पक्षले अविश्वासको प्रस्ताव आए अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्ष एकजुट भएका हुन्।
यसैबीच, प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री हटाउने मुख्यमन्त्री शाहीको निर्णयका विषयमा आफू निकट नेताहरूसँग आइतबार बिहान छलफल गरेका छन्।
बालुवाटार श्रोतका अनुसार ओलीले मुख्यमन्त्री शाहीलाई उक्त निर्णयबाट पछि हट्न दबाब दिने गरी रणनीति बनाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएका छन्।