सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टी फुटाउने प्रस्ताव आएको खुलासा गरेका छन्।
नेकपाका एक अध्यक्ष समेत रहेका ओलीले शनिबार प्रचण्डसँग भएको भेटमा पार्टी फुटाउने प्रस्ताव गरेका हुन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीबाट आएको प्रस्तावको खुलासा गरेका हुन्।
श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले एकसाथ जान नसकिने अवस्था आएकाले अलग–अलग भएर जान प्रस्ताव गरेका हुन्। ओलीले पार्टी फुटाउन प्रस्ताव गरे पनि आफूहरू नेकपाको एकता कायम राख्नै जोडबल गरिरहेको उनले बताए।
नेकपाका महासचिव विष्णु पौडेलले पनि आइतबार सामाजिक सञ्जालमार्फत् पार्टी एकता गम्भीर संकटमा पुगेको बताएका थिए। ओली निकट नेताका अनुसार पार्टी मिल्नै सक्दैन र फुट्नै खोजेको हो भने सल्लाह गरेर फुटाउन उनले प्रस्ताव गरेका हुन्।
‘यसरी घिसिपिटी गर्नुभन्दा पार्टी फुटाउ, भद्रगोल अवस्थामा पार्टी चलाइरहनु हुन्न,’ ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने।
यसैबीच, आइतबार नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई सम्पर्क गरी कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तारमा रोक्न र छलफल गर्न आग्रह गरेका थिए।
त्यसपछि अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई फोन गरी मन्त्रिपरिषद विस्तार केही दिन स्थगित गर्न आग्रह गरेका छन्।
भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको ओलीको भेट, मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव तयार गर्न लगाउने विषयलाई लिएर ओली र प्रचण्डबीच मतभेद बढेकाे हाे।