सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको विवाद बढेपछि पूर्वएमालेहरूलाई एकजुट गराउने प्रयास शुरु भएको छ।
प्रधानमन्त्री ओलीकै निर्देशनमा पूर्वएमालेलाई एकजुट गराउने पहल शुरु भएको हो। कतिसम्म भने लामो समय बिरामी भएर थलिँदा प्रधानमन्त्री ओलीले उपचार खर्चको समेत दिन इन्कार गरेका प्रदीप नेपालले पनि अहिले महत्त्व पाएका छन्।
अगुवा नेता प्रदीप नेपाललाई भेट्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा गएका हुन्।
गोठाटारस्थित नेपाल निवासमा पुगेका ओली निकट नेताहरूले प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी बनाइदिन अनुरोध गरेका थिए।
‘मैले सके जति पहल गर्छु भनेको छु, नेताहरु मिलाउन सजिलो छैन, दौडिनुपर्ने हुँदा मलाई सहज पनि हुँदैन,’ नेता नेपालले नेपाली पब्लिकसँग भने।
संसदीय दल, सचिवालय, स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म अल्पमतमा रहेका ओलीलाई अध्यक्ष प्रचण्डले साथ दिइरहेका छन्।
यद्यपि, कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको समीकरण बनेपछि ओली झस्किएका छन्। त्यसैले ओली वरिष्ठ नेता नेपालबाट सहयोग खोज्न थालेका हुन्।
वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले पनि ओलीलाई साथ नदिएपछि ओली एक्लिएका छन्।