वि.सं. २०४६ सालको जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइञ्जेल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक जीवन उकालो लागिरह्यो। उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि रोजी–रोजीका मन्त्रालय पाएका पौडेल जीवनको उत्तरार्धमा चाहिँ नेपाली कांग्रेसभित्रै आफ्नो अस्तित्वको बँचाउने कसरतमा सकेसम्मको ताकत लगाइरहेका छन्।
अघिल्लो वर्ष कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गतको कञ्चनपुरको सभामा पौडेलले ‘म छु, पार्टी सभापतिजीले केही चिन्ता लिनु पर्दैन’ भनेर सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुमधुर बनाउन चाहेको ‘सन्देश’ दिएका थिए।
तर, एक वर्षको अन्तरालमा पौडेल र देउवाको सम्बन्ध झनै बिग्रियो। यतिसम्म कि, पौडेलले पार्टीमा देउवाले एकलौटी गरेको भनेर असोज १२ गते आफूनिकट २७ जना नेताको हस्ताक्षरणसहित १६ बुँदे माग पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।
‘रामचन्द्र पौडेलसँग अब अर्को बाटो छैन, आफ्नै समूहबाट महामन्त्री शशांक कोइरालादेखि अधिकांश नेताले उहाँको साथ छोडिसकेका छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले अन्तिम कसरतमा उहाँ लाग्नु भएको हो।’
बीपी कोइरालाले भरोसा गरेका पौडेल
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाबाट प्रशिक्षित रामचन्द्र पौडेलको राजनीतिक यात्रा संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि ओरालो लागेको हो, जसको कारण थियो– पद लोलुपता।
‘रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यको उदय कोइराला क्याम्पबाटै भएको हो, शेरबहादुरजीभन्दा रामचन्द्र दाइ नै अगाडि हुनुहुन्थ्यो, र उहाँहरुको टिमलाई आरएसएस भनिथ्यो,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वरक्षा भीमसेनदास प्रधानले भने, ‘तर, समयक्रमसँगै उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेको मान्छे सानो–सानो कुरामा लोभ गर्दा रामचन्द्र दाइको साख गुम्न पुगेको हो।’
‘त्यति मात्रै होइन, शुरुमा रामचन्द्र दाइले भागबण्डाको विरोध गर्नुभयो, तर जब शेरबहादुरजीसँग पराजित हुनुभयो उहाँ आफैले भाग माग्न थाल्नु भयो,’ प्रधानले भने, ‘पदको लोभले निष्ठावान भनिएका नेता पनि अल्पमतमा पर्छन् भन्ने उदाहरण रामचन्द्र दाइलाई हेरे पुग्छ।’
नेता प्रधानका अनुसार बीपी कोइरालाको कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पनि पौडेललाई अघि बढाउन निकै भूमिका खेलेका थिए। त्यसो त बीपी कोइरालाले पाँच जना क्षमतावान युवा नेतामा पौडेललाई पनि समावेश गरेकै थिए।
जुनसुकै पद पाए पनि स्वीकार्ने पौडेलको बानीले पनि राजनीतिक जीवनको उत्तारार्धमा उनलाई क्षति भएको प्रधानको टिप्पणी छ। ‘सभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री हुनुभयो, महत्त्वपूर्ण मन्त्रालय सम्हाल्नु भयो, फेरि आएर शान्ति मन्त्री हुनुभयो,’ प्रधानले भने, ‘रामचन्द्र दाइका यस्ता कार्यले पार्टीभित्र सम्मान घट्यो, त्यो उचाईमा पुगेको नेताले जुन मन्त्रालय पायो त्यही खाने गर्नुहुन्न।’
यस कारण छोडेका थिए गृहमन्त्री र कोइराला क्याम्प
गिरिजाप्रसाद कोइरालाले कोइराला क्याम्पमै रहेका देउवालाई संसदीय दलको नेता बनाए। त्यति बेलासम्म पौडेल पनि कोइराला क्याम्पमै थियो। तर, जब वि.सं. २०५८ असार २८ रोल्पाको होलेरी पुलिस चौकीमा माओवादीको आक्रमणमा एक प्रहरीको मृत्यु भयो र ५९ प्रहरी माओवादीको नियन्त्रणमा परे, कोइरालाले उपप्रधान तथा गृहमन्त्री रहेको पौडेललाई ‘एक्सन’ लिए।
‘होलेरीकाण्डपछि रामचन्द्र दाइले मन्त्री पदबाट राजीनामा दिनुभयो, र केही समय कोइराला क्याम्पबाट अलग नै हुनुभयो,’ प्रधानले नेपाली पब्लिकसँग भने, ‘तर, २०६२/०६३ सालको जनआन्दोलनपछि फेरि कोइराला क्याम्पमै फर्किनु भयो।’
नेपाली कांग्रेसको १२औं महाधिवेशनमा रामचन्द्र पौडेलले सभापतिमा लड्ने मनसाय प्रकट गरेका थिए। तर, पौडेललाई उम्मेदवार बनाउँदा शेरबहादुर देउवाले जित्ने र पार्टीको आन्तरिक संरचनाका व्यापक ह्रास आउने ठहर गरेर सुशील कोइराला आफै उम्मेदवार भएको बताउँछन् नेता प्रधान।
‘देउवाजी सभापति भए पार्टी कमजोर हुन्छ भन्ने सुशील दाइको निष्कर्ष थियो, त्यसैले पनि राष्ट्रपतिको चर्चा हुँदा पनि उहाँले बेवास्ता गरी सभापति बन्नु भएको हो,’ प्रधानले थप प्रष्ट पार्दै भने।
‘रामचन्द्र दाइ जसलाई पनि बढी विश्वास गरिहाल्नु हुन्छ, धोका दिएको पनि थाहा पाउनु हुन्न, उहाँ निष्ठाको राजनीति गर्नुहुन्छ, अहिले निष्ठालाई राजनीतिक आदर्श मान्नेभन्दा पनि साधन, स्रोत र संरक्षणबाट बढी प्रभावित भएको अवस्था छ,’ आचार्यले भने।
राजनीतिक यात्रा ‘सधैँ नाफामा’
बीपी कोइरालाबाट प्रशिक्षित पौडेलको जन्म वि.सं. २००१ सालमा तनहुँ जिल्लामा भएको हो। राजनीतिक जीवनको सुरुआत कम्युनिष्ट पार्टी निकट नेपाल विद्यार्थी फेडेरेसनबाट भयो।
नेपाल विद्यार्थी संघका संस्थापक सदस्य पौडेल पञ्चायतविरुद्ध आन्दोलनसँग जोडिँदै २०२० सालबाट नेपाली कांग्रेसमा आबद्ध भएका हुन्। साढे पाँच दशकको राजनीतिक यात्राको प्रारम्भ नेपाली कांग्रेसको भ्रातृ संगठन छात्र संघबाट भएको थियो।
पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक गरी १३ वर्षसम्म जेल परेका वरिष्ठ नेता पौडेलले २०६२÷६३ को जनआन्दोलन सम्पन्न भएपछि गठन भएको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेर काम गरे।
यो पनि पढ्नुहोस्ः
नेपाली कांग्रेसः शेरबहादुरको छायामा आरजुको दबदबा
‘अराजक’ कार्यशैली, एकाङ्की निर्णय, जसका कारण अप्ठ्यारोमा पर्दैछन् केपी ओली
तर, त्यसअघि नै वि.सं. २०५६ को आमनिर्वाचनपछि उपप्रधान तथा सञ्चारमन्त्री तथा केही समयपछि नै उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका थिए।
वि.सं. २०४८ सालको आमनिर्वाचनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास तथा कृषि मन्त्री भएका पौडेलले ५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाका सभामुखको जिम्मेवारी पाए।
यति धेरै जिम्मेवारीमा बसिसकेका वरिष्ठ नेता पौडेलको निष्ठावान छवि प्रधानमन्त्रीको चुनावमा १७ पटकसम्म पराजित भएपछि धुमिल भयो। ‘त्यति मात्रै होइन, शुरुमा रामचन्द्र दाइले भागबण्डाको विरोध गर्नुभयो, तर जब शेरबहादुरजीसँग पराजित हुनुभयो उहाँ आफैले भाग माग्न थाल्नु भयो,’ प्रधानले भने, ‘पदको लोभले निष्ठावान भनिएका नेता पनि अल्पमतमा पर्छन् भन्ने उदाहरण रामचन्द्र दाइलाई हेरे पुग्छ।’
‘रामचन्द्र दाइ निष्ठावान नेता हो’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग लामो समयसम्म काम गरेका कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले चाहिँ पौडेललाई पार्टीभित्रका शीर्षमध्येमा उनी निष्ठावान नेता भएको बताएका छन्।
सक्रियता, विचार दिन सक्ने क्षमता आदिका कारण पौडेल पार्टीभित्र अझै सम्भावना रहेको आचार्यको धारणा छन्। ‘रामचन्द्र दाइ जसलाई पनि बढी विश्वास गरिहाल्नु हुन्छ, धोका दिएको पनि थाहा पाउनु हुन्न, उहाँ निष्ठाको राजनीति गर्नुहुन्छ, अहिले निष्ठालाई राजनीतिक आदर्श मान्नेभन्दा पनि साधन, स्रोत र संरक्षणबाट बढी प्रभावित भएको अवस्था छ,’ आचार्यले भने।
नेपाली कांग्रेसमा अहिले सत्गुण, सदाचार र निष्ठावान राजनीति गरेका नेताहरूभन्दा पैसा र शक्तिको भक्ति गान गर्नेहरू हावी भएकाले पौडेलले महत्त्व नपाएको आचार्यको तर्क छ। ‘रामचन्द्र दाइमा भएका सत्गुणहरू समयका हिसावले प्राथमिकतामा नपरेका हुन्, उहाँ निष्ठाका पर्याय हुनुहुन्छ,’ आचार्यले नेपाली पब्लिकसँग भने।