नेपाल आयुर्वेद चिकित्सक संघले न्यूज २४ च्यानलबाट प्रशारित रवि लामिछानेको कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा आयुर्वेद चिकित्सक बताउने बीपी तिमल्सिनाका दाबी भ्रामक रहेको बताउँदै छानवीनको माग गरेको छ। साथै संघले तिमल्सिनामाथि कारबाहीको माग गरेको छ।
संघले तिमिल्सिनाका भनाईहरू जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी निर्देशन र सूचना तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्धान्त विपरीत भएको प्रष्ट पारेको छ।
संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली र डा. मनोजकुमार चौधरीले प्रेस विज्ञप्ति जारी गरी तिमल्सिनाको अभिव्यक्ति दण्डनीय अपराध भएको, जनस्वास्थ्यमा गम्भीर खेलवाड र सरकारका प्रयासलाई दुरुत्साहन गर्ने प्रकृतिका भएको दावी गरेका छन्।
‘त्यसमा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको सिद्धान्त विपरीत रहेका छन्, आयुर्वेद चिकित्सासम्बन्धी भ्रम फैलाउने, आयुर्वेदको सिद्धान्त विपरीतका जडिबुटी र विधि सिफारिस गर्दा सर्वसाधारणमा भ्रम पैदा भएर रोगको जोखिम बढाइएको छ, विज्ञप्तिमा भनिएको छ, ‘बिरामीलाई उपचार गर्दा एक प्रकारका जडिबुटीबाट गर्ने र सञ्चारमाध्यमबाट अर्कै जडिबुटीको नाम लिएर भ्रामक अभिव्यक्ति सार्वजनिक गररिएको छ।’
विज्ञप्तिमार्फत् संघले न्यूज २४ च्यानल र बीपी तिमल्सिनामाथि छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै संघले त्यसमा व्यक्त गरिएका जडिबुटीहरुले कोरोना निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै आधार प्रमाण नभएको बताएको छ।