दशैं सकियो। तिहार आउनै लागेको छ। छठ तथा अन्य महत्त्वपूर्ण चाडपर्वहरू मनाउने तयारीमा छन् नेपाली। त्यसमाथि कोरोना महामारीका कारण खुलेर सपिङ गर्न पाएका छैनन्।
काठमाडौंबासीको सामग्री खरिद गर्ने बानी विस्तारै सपिङ सेन्टर र डिपार्टमेन्ट स्टोरतर्फ आकर्षित हुन थालेको छ। कोरोना प्रकोपका कारण डिपार्टमेन्ट स्टोर अलि सुरक्षित होलान् भनेर उपभोक्ता त्यहाँ पुग्छन्।
तर, यस्ता सपिङ सेन्टर सञ्चालकको नियतका कारण उपभोक्ता ठगिन पुग्छन्। यस्तै एउटा प्रकरणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सेलवेज क्यास एन्ड क्यारी प्रालिलाई पुनः कारबाही गरेको छ।
उपभोक्ताको हित विपरीत सामग्री बिक्री गरेपछि सेलवेज कारबाहीमा परेको हो। एक वर्षमा सेलवेज कारबाहीमा परेको तेश्रो पटक हो यो।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दशैंतिहारका बेला मौका छोपेर उपभोक्ताको हित विपरीत सामग्री खरिदबिक्री गर्ने र उपभोक्तालाई ठगी गर्ने जुनसुकै व्यापारिक प्रतिष्ठानलाई पनि कारबाही गर्ने प्रष्ट पारेका छन्।
अन्य व्यापारिक प्रतिष्ठानहरूविरुद्ध पनि उजुरी आएकाले अनुसन्धान र निगरानी भइरहेको सुवेदीले बताए। ‘उपभोक्ताको हितमा काम गर्नु हाम्रो दायित्व हो, हाम्रो जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छौं,’ सुवेदीले भने।
कोटेश्वरमा सञ्चालित डिपार्टमेन्ट स्टोरलाई २ लाख जरिवाना
विभागले सोमबार सेलवेजको कोटेश्वरमा सञ्चालित डिपार्टमेन्ट स्टोरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सेलवेजमा उपभोक्ताको अहित हुने र केही कैफियत देखिएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।
सेलवेजले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको छ। उपभोक्ताले विभागमा उजुरी दर्ता गराएपछि अनुगमन गरिएको थियो।
विभाग श्रोतका अनुसार डिटोलको ह्यान्डवास अधिकरत खुद्रा मूल्यभन्दा बढीमा बेचेको, चियापत्तीमा पनि अतिरिक्त मूल्य लिएको लगायतको गुनासोसहित उजुरी आएको थियो।
यसअघि, सेलवेजको महाराजगञ्जस्थित स्टोरमा अनुगमन गरी २० हजार रुपैयाँ र सातदोबाटोमा सञ्चालित स्टोरमा अनुगमन गरी २ लाख रुपैयाँ जरिवाना गर्दै सामग्रीको खरिद बिक्रीमै रोक लागएको थियो।